घटना मोड्न खोजिएको भन्दै गाउँपालिका अध्यक्षको आपत्ति

साझाकुरा
२०७८ मंसिर २३, बिहीबार ११:३७

हेटौंडा-मकवानपुरको  राक्सिराङ गाउँपालिका–४ स्थित गिङ्गु खानीको विषयलाई लिएर भएको विभिन्न आपराधिक घटनालाई राजनीतिकरण गर्न खोजिएको भन्दै राक्सिराङ गाउँपालिका र रिद्धिसिद्धि सिमेन्ट उद्योग प्रशासनले चिन्ता व्यक्त गरेको छ ।  गाउँपालिका अध्यक्ष  राजकुमार मल्लसहित उद्योगका प्रतिनिधिले पत्रकारहरुसँग भेटघाट गरी खानी सञ्चालनको लागि काम भइरहँदा खानीका महाप्रबन्धक माथि भएको कुटपिट, खानी क्षेत्रमा डोजर आगजनीका घटनादेखि ठेकेदार कम्पनीका प्रतिनिधिसम्मलाई कुटपिटको घटनालाई राजनीतिकरण गरी उम्कने प्रयास गरिएको भन्दै आपत्ति जनाइएको हो ।

राक्सिराङ गाउँ– पालिकाका अध्यक्ष राजकुमार मल्लले ढुड्डा खानीको विषयलाई लिएर स्थानीय केही युवाहरुले गाउँमा आतंक मच्चाएको भन्दै खेद व्यक्त गरे । युवाहरुको जमातले खानीक्षेत्रमा तोडफोड गर्ने, ठेकेदार र रिद्धिसिद्धी सिमेन्ट उद्योगका प्रतिनिधिलाई कुटपिट तथा हातहतियार सहित बाटोमा अवरोध भइरहेको भन्दै अध्यक्ष मल्लले आपत्ति जनाए । ‘गाउँमा खानीको निहुँमा गुण्डागर्दी बडिरहेको छ । यसलाई समाधान गर्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छौं । तर, केही  राजनीतिक दलले भनेत्यही गुण्डागर्दीलाई संरक्षण गर्ने हिसाबले विज्ञप्ती निकालेर भ्रम छरिरहेका छन् ।’ अध्यक्ष मल्लले भने । खानी क्षेत्रको वास्तविक स्थानीयको माग सम्बोधनमा आफूहरुले विगतमा पनि समन्वयकारी भूमिका खेलेको र केही समस्या भए गाउँपालिकामा जानकारी गराउन उनले आग्रह गरे । ‘कुनै केही माग नै छैन । ठेकेदार र उद्योगसँग कमिशनको बार्गेनिङ गर्न आपराधिक कामहरु भइरहेको छ ।’ उनले भने । गाउँमा गुण्डागर्दी आतंक भएपछि प्रहरी प्रशासन पुग्दा प्रहरी आंतक भयो भनेर राजनीतिक दलहरुले झुठो विज्ञप्ती निकालेको गाउँपालिका अध्यक्ष मल्लले बताए ।

‘खानीक्षेत्रमा आफु र आफुनिकटले काम गर्न पाए ठिक हुने नपाए अवरोध जनाउने कार्यलाई राजनितिक दलले गरेको संरक्षण गर्नु हुँदैन । ४ नम्बर वडा अध्यक्षले खानी सञ्चालन गर्न आफैं सिफारिश गरेर पठाएका छन् । अहिले आफू अनुकुल भएन भनेर विज्ञप्ती जारी गर्दै खानी बन्द गर्नु भन्नु आपत्तिजनक छ ।’ मल्लले भने ।
रिद्धिसिद्धि सिमेन्ट उद्योगका खानीतर्फका महाप्रबन्धक गणेश कुमार सिंहले अपराध गर्नेहरुलाई राजनीतिक संरक्षण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । ‘खानी क्षेत्रमा काम र कमिशन नदिएको भन्दै मलाई युवाहरुले कार्यालयमै आएर कुटपिट गरे । त्यही केटाहरुमाथि मैले मुद्धा पनि दर्ता गरेको छु । अपराध गर्नेहरुलाई उम्काउन राजनीतिक दलहरु नै लागेको देख्दा अचम्म लागेको छ ।’ सिंहले भने ।

कात्तिक १४ गते हेटौंडास्थित कार्यालयमा हातहतियारसहित आएका युवाहरुले सिंहमाथि आक्रमण गरी फरार भएका थिए । उनको कुमको हड्डी भाँचिएको छ भने शरीरका विभिन्न ठाउँमा चोट लागेको छ । त्यसैगरी गत मंसिर ७ गते पनि ठेकेदार कम्पनी बानियाँ निर्माण सेवाका प्रतिनिधि आरएन खतिवडामाथि युवाहरुले हात हतियारसहित आक्रमण गरे । आक्रमणबाट उनी घाइते भएका थिए । उनले पनि कुटपिट गर्ने युवाहरुको नामै किटेर प्रहरीमा उजुरी दिएका छन् । यस्तै बानियाँ निर्माण सेवाकै प्रतिनिधि नवराज खतिवडालाई पनि केही समयअघि खतिवडा र सिंहलाई हातपात गर्ने समूहले नै आक्रमण गरेको थियो । केही समयअघि खानी क्षेत्रमा एक्साभेटर पनि जलाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*