दुबईमा अलपत्र हाँडीखोलाका युवालाई प्रवासीले गरे उद्दार
हेटौंडा-बैदेशिक रोजगारका क्रममा दुबईमा बिरामी भएर अलपत्र बनेका मकवानपुरको मनहरी गाउँपालिका–३ हाँडीखोलाका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरेका छन् । प्रवासी युवाहरुले उद्दारपछि नेपाल फर्काउन सहयोगसमेत गरेका छन् । जापान, दुबई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर जिम्बालाई बिहीबार नेपाल फर्काएका हुन् । दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भइ ढलेका थिए । उनको उपचारको क्रममा पेटको अप्रेशन भयो । साथै उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसाहारा बनेका थिए ।
अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि जिम्बा अलपत्र अवस्थामा थिए । हाँडीखोला स्थायी निवासी अर्जुन सुनामले जिम्बाको नाजुक अवस्थाबारे जापानमा रहेका श्रीराम रिजाललाई जानकारी गराए । हाँडीखाला निवासी रिजालकै संयोजकत्वमा जिम्बालाई नेपाल फर्काउनको लागि आवश्यक रकम जोहो गर्ने अभियान सुरु भयो ।
करिब एक हप्ताको अवधिमा रिजालको नेतृत्वमा करिब एक लाख रुपैयाँ जुटाएर उनलाई नेपाल फर्काइएको हो । ‘भाइको नेपालमा पनि कोही अभिभावक रहेनछन् । उनी हाँडीखोलामा ठूलोबाको घरमा बस्ने रहेछन् । अलपत्र भएपछि पैसा खर्च गरेर उद्दार गरिदिने कोही नभएपछि हामीले पहल गरेर नेपाल फर्काउन सफल भयौं ।’ रिजालले भने ।
नेपाल फर्किसकेपछि पनि उनको थप उपचार गर्न आफूहरुले सहयोग जुटाउने उनले बताए । जिम्बालाई नेपाल झिकाउनको लागि साउदीमा रहेका विपिन न्यौपाने,जनक विष्ट,दिपक अर्याल, अर्जुन सुनाम, मिलन लामा, रमेश सुनाम, पर्शुराम ऊप्रेती लगाएतका युवाहरुले सहयोग गरेका थिए । दुबईमा रहेका देवेन्द्र सुवेदी र राम बावु रेग्मीले भौतिक ऊपस्थितिमै आवश्यक प्रक्रियाहरु मिलाएर सहयोग गरेका थिए । दुवईबाटै मनिष लुईटेल र अजय पुडासैनीले पनि आर्थिक सहयोग गरेका थिए ।
फेसबुक ग्रुप च्याटमा ‘बिक्रम बचाउ अभियान’ सञ्चालन गरी श्रीराम रिजालको संयोजकत्वमा रकम संकलन सुरु गरिएको थियो । नेपाल फर्किएका जिम्बालाई उनकी दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारको लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेब ज्योतिराज लुईंटेललगायतको टिमले पहल गरिरहेका छन् ।







