भाट–भटेनी हेटौंडाको छुट अफर कायमै

साझाकुरा
२०७८ मंसिर २७, सोमबार १०:४७

हेटौंडा-नेपालकै ठूलो चेन सुपर मार्केट भाट–भटेनी हेटौंडा शाखाले उद्घाटनको अवसरमा दिँदै आएको छुट अफर कायम राख्ने भएको छ । मंसिर २२ मा उद्घाटन– सँगै छुट अफर ल्याएको भाट–भटेनीले आइतबार सूचना जारी गर्दै अझै केहि दिन अर्को सूचना जारी नभएसम्मका लागि छुट अफर कायम गर्ने जनाएको छ । भाट–भटेनीले ग्रोसर, रेडिमेट गार्मेन्ट, फुटवेयर, तथा किचनवेयरमा १० प्रतिशत र इलेक्ट्रोनिक्स सामानहरुमा २० प्रतिशत छुट हुने अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुड्डले जानकारी दिए ।

भाट–भटेनीमा ग्राहकको संख्या बढ्दो रहेको र ग्राहकको इच्छा बमोजिम छुट अफर समय बढाउनुपर्ने देखिएकोले अवधि थप गरिएकोले गुरुड्डले बताए । उनले एक सूचना जारी गर्दै ग्राहक वर्गप्रति आभारसमेत व्यक्त गरेका छन् । अध्यक्ष गुरुङले स्वदेशमै अन्तराष्ट्रिय स्तरको सपिङ सुविधाको अनुभव गराउँदै युवाहरुलाई रोजगारी प्रदान गर्ने उद्देश्यले व्यवसायलाई प्रवद्र्धन गर्दै अगाडि बढेको बताएका छन् । उनले देशका सबै प्रदेश तथा मुख्य शहरहरुमा स्टोर विस्तार गर्ने अभियान रहेको बताउँदै आएका छन् ।

हेटौंडाको मुख्य सहरबाट करिब ४ सय मिटर पूर्वमा रहेको स्टोर करिब १४ कठ्ठा क्षेत्रफलमा निर्माण भएको हो । डेढ अर्ब लागत खर्चिएको भाट–भटेनीले जनाएको छ । स्टोरमा स्थानीय करिब २ सय जनाले रोजगार पाएका छन् । कुल क्षेत्रफल १ लाख ३४ हजार वर्गफिटका २ वटा बेसमेन्टसहित ८ तले भवन रहेको र दुबै बेसमेण्टमा पार्किङको व्यवस्था रहेको जनाइएको छ ।

स्टोरको तलो तलामा खाद्यान्न, फलफूल, हरियो तरकारी, फ्रोजन आइटम, हाउस होल्डका सामान र कस्मेटिक सामग्री बिक्रीका लागि राखिएका छन् । पहिलो तलामा किचनवेयर, भाँडाकुँडा, बालबालिकाका खेलौना र श्रृंगारका सामग्री राखिएको छ । दोस्रो तलामा महिला र पुरुषका तयारी गार्मेन्ट, सारी, कुर्ता लगाएतका ब्राण्डेड फेन्सी सामग्री राखिएको छ । तेस्रो तलामा जुत्ता–चप्पल लगायतका फुटवेयर सामग्री राखिएका छन् । तेस्रो तलामै विभिन्न कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, भ्याकुम क्लिनर जस्ता इलेक्ट्रोनिक्स सामग्री राखिएको छ । चौथो तलामा क्यू एन्ड यू कम्पनीका फर्निचर छ ।

भाटभटेनीमा केएफसी र पेपे पिजाले पनि सेवा शुभारम्भ गरेको छ । सुपर मार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले निकट भविष्यमै क्यूएफएक्स पनि सञ्चालनमा आउने बताए । हेटौंडापछि वीरगञ्ज, जनकपुर, बिर्तामोड र धनगढीमा भाट–भटेनीले अर्को शाखापनि विस्तार गर्न लागेको जनाइएको छ । हालसम्म सञ्चालनमा आएका २० ओटा स्टोरमा करिब ८ हजार कार्यरत् रहेका छन् । यसअघि भाट–भटेनीको भक्तपुर, ललितपुर, काठमाडौं, धरान, विराटनगर, चितवन, पोखरा, बुटवल र भैरहवालगायत सहरमा शाखा सञ्चालन गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*