संचारकर्मीलाई दोस्रो पटक प्रवेशमा रोक
हेटौंडा-बागमती प्रदेशका मन्त्रीहरुको सपथ ग्रहणमा संचारकर्मीहरुलाई प्रवेशमा रोक लगाइएको छ । मंगलबार प्रदेशको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका थिए । पाण्डेले थपेका मन्त्रीहरुको सपथ ग्रहणमा पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाइएको हो ।
यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सपथग्रहणमा पनि संचारकर्मीहरुलाई प्रवेश गर्न रोक लगाइएको थियो । मंगलबार पनि साँझ ५ बजेको लागि राखिएको सपथग्रहणमा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको छैन । प्रदेश प्रमुख कार्यालयमा सपथ ग्रहण कार्यक्रमको समाचार संकलन गर्न आएका संचारकर्मीहरुलाई प्रदेश प्रमुखले रोक लगाएको भन्दै सपथ ग्रहण स्थलमा प्रवेश दिइएको थिएन ।
सरकारी मिडियाको सीमित पत्रकारलाई मात्रै प्रवेश गर्न दिएर निजि मिडियाका पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्दै संचारकर्मीहरुले विरोध गरेका थिए । संचारकर्मीहरुलाई बाहिर राखेरभित्र सपथ ग्रहण कार्यक्रम गरिरहेको भन्दै उनीहरुले प्रदेश प्रमुख र बागमती प्रदेश सरकारको विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईंले सपथ ग्रहणमा सन्चारकर्मीलाई प्रवेश गर्न रोक लगाएर प्रदेश प्रमुख संचारकर्र्मीहरुसँग डराएको बताए । उनले पटक–पटक संचारकर्मीलाई प्रदेश प्रमुख कार्यालयमा समाचार संकलन गर्न जान रोक लगाएको भन्दै विरोध जनाए ।







