बेकरीको मूल्य बढाउने तयारी
हेटौंडा-मकवानपुरमा रहेका बेकरी उद्योगी व्यवसायीहरुले बेकरीको मुल्य बढाउने तयारी गरेका छन् ।बेकरी बनाउन प्रयोग हुने कच्चा पदार्थको मुल्यवृद्धि भएपछि बेकरीमा पनि मुल्य बढाउन लागिएको जनाइएको छ । आगामी पुसको पहिलो हप्ताबाट मकवानपुरमा बेकरीको मूल्यबृद्धि हुने भएको हो । हेटौंडामा भएको बेकरी उद्योगी व्यवसायीहरुको भेलाले मुल्यवृद्धि गर्ने निर्णय गरेको मकवानपुर बेकरी उद्योग संघका सचिव राजेन्द्र सापकोटाले बताए ।
मुल्यवृद्धिपछि ठुलो पाउरोटी प्रति प्याकेट ६० रुपैँया, मध्यम ४० रुपैँया, सानो २५ रुपैँया मूल्य पर्ने भएको छ । पपलाई प्रति प्याकेट ६० रुपैँया, बिस्कुट प्रति प्याकेट ६० रुपैँया, क्रिमरोल (४ पिस) ६० रुपैँया, बन पाउरोटी (६ पिस) ६० रुपैँया, दुनोट (६ पिस) ६० रुपैँया तोकिएको संघले जनाएको छ । मकवानपुरमा करिब २ दर्जन साना ठुला गरी बेकरी उद्योग रहेको जनाइएको छ । बेकरीको हरेक आइटममा ५ देखि १० रुपैँयासम्म मूल्यबृद्धि हुने मकवानपुर बेकरी उद्योग संघका सचिव सापकोटाले बताएका छन् । ‘कच्चा पदार्थमा मूल्यवृद्धि भएपछि आफुहरुले बाध्य भएर मूल्यबृद्धि गर्नुपरेको हो ।,’ उनले भने ।







