हेटौंडामा तीन दिने जडिबुटी खेती तालिम सुरु

साझाकुरा
२०७८ मंसिर २९, बुधबार १२:०१

हेटौंडा-हेटौंडामा प्रदेश स्तरीय तीन दिने जडिबुटी खेती तालिम सुरु भएको छ । तालिम बनस्पती अनुसन्धान केन्द्र मकवानपुरको आयोजनामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित प्रस्ताविक मझुवा होमस्टे क्षेत्रमा मंगलबारबाट सुरु भएको हो । सहकारीहरुको सहभागितामा भएको तालिमको उद्घाटन नेपाल जडिबुटी सहकारी महासंघ केन्द्रीय अध्यक्ष एंव सहकारी बोर्डका सदस्य इश्वरीप्रसाद पाण्डेले गरेका हुन् ।
सो क्रममा प्रमुख अतिथि पाण्डेले जडिबुटीजन्य वस्तु उत्पादन गरी आर्थिक क्षेत्रमा सुधार आउन उद्यम विकास तालिम आवश्यक रहेको बताए । उनले खेर गएका र नचिनिएका जडिबुटिलाई पहिचान गरी संकलन तथा खेती गरी खरिद बिक्री गर्न सके आर्थिकस्तर पाटो बलियो हुने बताए ।

भूगोलअनुसार जडिबुटी खेतीलाई प्रोत्साहन गर्न सरकारले उचित बजेटको व्यवस्था गरी खेर गएका जडिबुटीलाई संकलन गरी बिक्री–वितरण गर्न सके देशको आर्थिक पाटोलाई बलियो बनाउने बताए । जडिबुटी खेतीले आर्थिक पाटोलाई मात्र नभई सामाजिक, पर्यटन, पर्यावरणमा समेत सघाउ पुग्ने बताउदैं उनले भूगोल अनुसारको योजना र योजना अनुरुपको सपना पुरा हुने बताए । कार्यक्रममा हेटौंडा वडा नम्बर १२ का वडा अध्यक्ष ललित बहादुर घलान, १३ का मनोजकुमार वाइवा, १४ का अध्यक्ष दीपक खड्का, नेपाल जडिवुटी सहकारी महासंघ केन्द्रीय कोषाध्यक्ष मिरा तामाङ, प्रस्ताविक मझुवा होमस्टेका सञ्चालक शंकर मोक्तान, सुरज थिङ तथा सञ्चारकर्मीको अतिथ्यता रहेको थियो ।

प्रदेशका १३ जिल्लाका प्रारम्भिक सहकारी संस्था र जिल्ला जडिबुटी सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको तीन दिन सञ्चालन हुने तालिममा बनस्पती अनुसन्धान र जडिबुटिको परिचय, ड्रयागन फ्रुट, मेवा तथा च्याउ खेती, जडिबुटीबारे विद्यमान नीतिगत प्रावधान, बागमती प्रदेशमा जडिबुटी खेतीको विस्तार, सम्भाव्यता, समस्या, चुनौती र अवसरका साथै प्रशोधनबारे जानकारी, कालीकाठ, लौठसल्ला, कुरिलो र चिराइतो खेतीप्रविधि, जडिबुटीको बजारीकरणको अवस्था, जडिबुटी नर्सरी प्रविधि, संकलन तथा दिगो बजारका विषयमा छलफल गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*