१५ वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा

साझाकुरा
२०७८ पुष १, बिहीबार ११:१८

हेटौंडा-हेटौंडा–११, नवलपुरस्थित ग्रामीण असहाय बालबालिका सामुदायिक पुनस्र्थापना केन्द्र (रुहेल सिआरसी)ले १५ वटा विद्यालयका एक हजार ४ सय ५० जना विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री निःशुल्क वितरण गरेको छ ।  (रुहेल सिआरसी)ले तीन वटा पालिकामा संचालित १५ वटा विद्यालयका एक हजार चार सय ५० विद्यार्थीलाई विद्यालय पोशाक र न्यानो कपडा वितरण गरेको हो । रुहेल सिआरसीले हेटौंडा उप– महानगरका २, बागमती गाउँपालिकाका १० र राक्सिराङ गाउँपालिकाका ३ वटा विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो ।

रुहेल सिआरसीले १ सय ५ जना विद्यार्थीलाई खाद्यान्नसमेत सहयोग गरेको छ । आवश्यकतामा आधारित भई सहयोग गर्ने गरेको व्यवस्थापक केदार आचार्यले बताए । रुहेल सिआरसीले बालगृहसमेत सञ्चालन गरिरहेको छ । जहाँ २० जना किशोरी छन् । आइतबारदेखि शैक्षिक सामग्री, विद्यालय पोशाक, व्याग र न्यानो कपडा वितरण गर्न सुरु गरिएको रुहेल सिआरसीका कार्यक्रम व्यवस्थापक आचार्यले जानकारी दिए ।

आइतबार, सोमबार र मंगलबार गरी तीन दिनमा ५ वटा विद्यालयका विद्यार्थीलाई सहयोग हस्तान्तरण गरिएको आचार्यले बताए । बागमती गाउँपालिकाको टंकेश्वर आधारभूत विद्यालय, जनप्रभात आधारभूत विद्यालय र आधारभूत विद्यालय शाखाटार, हेटौंडा उपमहानगरपालिकाको वीपी आधारभूत विद्यालय र आकाशधारा पानीसारामा सहयोग सामग्री वितरण गरिएको छ ।

हेटौंडाका दुई विद्यालयमा १ सय ३० जना र बागमतीका ३ विद्यालयमा २ सय १५ जना विद्यार्थीलाई सहयोग हस्तान्तरण  गरिएको छ । बुधबार राक्सिराङको विकुटारस्थित जनजागृति आधारभूत विद्यालयका ५६ जनालाई सहयोग सामग्री वितरण गरिनेछ । विद्यालय पोशाकको भने कपडा दिएर सिलाइ खर्च दिने गरिएको छ । कपडा हस्तान्तरण गरेर सिलाई  गरिसकेपछि मात्रै सिलाई खर्च दिने गरिएको कार्यक्रम व्यवस्थापक आचार्यले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*