वनसँग जोडिएर उत्पादनमा लाग्न सुझाव

साझाकुरा
२०७८ पुष २, शुक्रबार १२:२१

हेटौंडा-ग्रामिण क्षेत्रका नागरिकहरु सामुदायिक वनसँग जोडिएर उत्पादनका क्षेत्रमा लाग्नुपर्ने सुझाव सरोकारवालाहरुले
औंल्याएका छन् । डिभिजन वन कार्यालय राप्ती मनहरीको आयोजनमा भएको डिभिजनस्तरीय समन्वय बैठकमा सहभागी सरोकारवालाहरुले वन क्षेत्रको संरक्षण गर्दै उत्पादनमा लाग्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा जिल्ला वन क्षेत्र समन्वय समिति र सरोकारवालाको सहभागिता थियो ।

उनीहरुले वनसँग जोडिएर जडिबुटी खेती गर्दै आर्थिक उपार्जनमा ध्यान दिनुपर्ने बताएका हुन् । वन उपभोक्ता समूहले उपभोक्ताहरुलाई प्राथमिकतामा राख्दै सामुदायक वनको प्रवद्र्धन स्वरुप विपन्न, गरिब, दलित र पछि  परेकाको लागि सामूदायिक वनहरुले काम गर्नुपर्ने सुझाव दिइएको छ ।

आर्थिक स्तरवृद्धिमा वनसँग जोडिएर उत्पादनमुलक काम गरी वनमा पर्यापर्यटनको विकासमा जोड दिनु पर्ने कार्यक्रममा सुझाव आएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख विष्णुप्रसाद आचार्यले कार्यालयबाट चार महिनामा भएका काम, उपलब्धी, आगामी कार्ययोजना, समस्या र चुनौतीबारे कार्यपत्र प्रस्तुत गरेका थिए । आचार्यले जनतासँग वनका कुरा, जनताका मनका कुरा कार्यक्रमको अभियान चलाउने, स्थानीय तहको वन वातावरण ऐन निर्माण आदीमा सहकार्य, समन्वय, संवाद गरी वातावरणमुखी कार्यक्रम गर्ने योजना अघि सारेका छन् ।

आचार्यले विद्यालय शिक्षा प्रवद्र्धन गरिने, वन अतिक्रमण, वन डँढेलो, जथाभावी पूर्वाधार निरुत्साहित गर्ने गराउने, नदिजन्य श्रोत व्यवस्थापन, सामुदायिक वनको कोष परिचालनलाई पारदर्शी एंव प्रभावकारी बनाउने, वर पिपल, निम, समी, तुलसी, हर्रो वर्रो, अमला, विजय साल, सतिसालको वृक्षारोपण अभियान चलाउने जस्ता कार्य योजना रहेको जानकारी दिएका थिए । जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बैठक बसेको थियो ।

कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, डिभिजन वन कार्यालय हेटौंडा प्रमुख इमनाथ पौडेल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, कबुलियती वन उपभोक्ता महासंघका अध्यक्ष सुन्तलीमाया चेपाङलगायतको आतिथ्यता थियो । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले वन क्षेत्रको प्रयोगसँगै संरक्षणमा सबैको ध्यान पुग्नुपर्ने बताए । वन क्षेत्रको संरक्षणमा राजनैतिक दल, सरकारी तथा गैरसरकारी संस्था, उपभोक्ता, नागरिक समाजलगायत सबै सरोकारवालाको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*