मानव सेवामा रमाउँदै ‘बेसहाराकी आमा’
हेटौंडा-बाइस वर्षको उमेरसम्म हेटौँडाकी सुमिरा लामालाई मानव सेवाबारे त्यति चासो थिएन । उमेरका कारण हुने चञ्चल स्वभाव, अध्ययनका लागि क्यापस आउजाउ र रमाइलोमै उहाँको दिनचर्या चलिरहेको थियो । उनी कहिले कलेज पढ्न छाडेर घुमघाम त कहिले आमाबासँग पैसा मागेर चलचित्रघरमा रमाउँथिन् । केही वर्ष यस्ता नियमितताबाट लामाको स्वभाव र दैनन्दिनमा परिवर्तन हुन समय नै लागेन । उनन्तीस वर्षीया लामा अहिले मानव सेवामा समर्पित भएको सात वर्ष पुग्यो ।
यस क्षेत्रमा एकछिनको रमाइलो र कसैलाई देखाउनका लागि मात्रै लागेको भए उनी अहिले यस क्षेत्रबाट अलग भइसक्नु हुन्थ्यो । उनीमा जागेको मानव सेवा भाव झन्झन् बढ्दै गइरहेको छ । लाग्छ, लामाको बाँकी जीवन सेवामै समर्पित हुनेछ । एक सामान्य परिवारमा जन्मनुभएका लामाका आमाबाबुले उनका साथीहरूले जस्तै उनीलाई जागिर खाएको देख्ने इच्छा थियो । तथापि उनी जागिरे साथीहरूभन्दा मानव सेवाको काम, त्याग र समर्पणका कारण अब्बल सावित हुन पुगिन् ।
लामा चार वर्षदेखि मानव सेवा आश्रममा बागलुङ शाखाका संयोजकका रूपमा सडक मानवको उद्दार, अभिभावकविहीनका अभिभावक र बेसहाराको सहारा बनेर सेवामा समर्पित छिन् । मानव सेवाका दौरानमा थुप्रै कठिनाइ र समस्या झेल्दै आएकी लामा अहिले आश्रममा स्वतःस्फुर्त रुपमा खटिरहेकी छन् । ‘म आफैँ आश्चर्यमा छु, त्यो क्याम्पस पढ्दाको लक्ष्य, जीवन र क्षण अनि अहिलेको भोगाइ, मानव सेवाप्रतिको समर्पण, सोच र बेसहाराको सहारामा इँटा थप्दै हिँड्न पाएकामा भिन्नै अनुभव हुन्छ’, लामाले भनिन् ‘मानिस जुन क्षेत्रमा लाग्छ, त्यही क्षेत्रमा आफ्नो सन्तुष्टि खोज्नुपर्छ, म मानव सेवामा सन्तुष्ट भएँ, अभिभावक– विहीनहरूको अभिभावक बन्ने प्रयत्न गरेको छु, सकेजति मानव सेवामै समय खर्चनेछु ।’
उनी अहिले साना बेसहारा बालबालिकाका आमा र हेरचाहका अभावमा बरालिएका मानिसहरूको अभिभावक बनिरहेकी छन् । उनी अहिले अभिभावक– विहीनहरूको जिम्मेवार र परिपक्व अभिभावक बन्न सफल भएकी छन् । लामालाई क्याम्पस छेउमै मानव सेवा आश्रम खुलेको तीन वर्ष भएको पत्तो नै थिएन । स्नातक अध्ययनरत लामाका साथीहरूले एउटा तालिम सञ्चालन हुँदैछ भन्ने खबर पु¥याए । नौदिने तालिम आश्रममै थियो । त्यसबेला अचानक लामामा तालिम लिने इच्छा पलायो तर मानव सेवा होइन, जागिरका लागि थप अनुभव आर्जन गर्न भनेर मात्रै ।बाबाआमाको सोचसमेत छोरीलाई जागिरे बनाउने नै थियो । ज्ञान हस्तान्तरण तालिममा सहभागी भएको पहिलो दिनबाटै उनको मन बदलिन थाल्यो । उनमा मानवसेवाको भाव झल्कँदै गयो । उनले आश्रममा रहेका बालबालिका र आमाबुबाको अनुहारमा आफूलाई देख्न थालिन् । तालिमभरका अवधिमा उनका मनमा मानवसेवाको भाव भरिसकेको थियो । ‘तालिमका क्रममा आश्रमको काम, सेवा तथा उद्धार र उपचारका विषयमा ज्ञान लिएँ’, लामाले भावुक हुँदै भनिन् ‘मलाई कुन बेला आश्रमले तान्यो पत्तै भएन, नौ दिनको दिनदेखि आश्रम छाड्नै मन लागेन ।’
एउटा प्रमाणपत्रका लोभमा सहभागी भएको तालिमले लामाको जीवन, सपना र योजना नै बदलिएको छ, अहिले मनबाट ‘जागिर’ हटिसकेको छ । उनी अहिले अनाथ, असहाय तथा सडक मानवका सेवामा अन्तर्मनले समर्पित छिन् । उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा सोच्ने फुर्सदै पाएकी छैनन् । अहिले तालिममा सहभागी लामा र आदर्श ढकाल मानव सेवामै छिन् । उनी घर छाडेर आश्रममा दिनरात व्यतीत गर्छिन् । उनले सेवा गरिरहेको आश्रम नै पहिलो आश्रम थियो । उनलाई मानव सेवा आश्रम यति छोटो समयमै राष्ट्रव्यापी हुनेछ भन्ने लागेको थिएन न यसलाई सबैले रुचाउने र सहयोग गर्नेछन् भन्ने थियो ।
एउटा जागिर खाएको भए लामाले परिवारलाई दुईचार पैसा दिन सक्थिन् होला, सीमित साथीभाइले चिन्थे होला, आफ्ना आमाबुबाको लक्ष्य पूरा हुन्थ्यो होला तर मानव सेवामा लागेपछि उनको पृथक परिचय बनिसकेको छ । लामाले आश्रममा सेवा गर्दै गर्दा हेटौँडा शाखा राम्रो हुँदै गयो । केन्द्रीय अध्यक्ष रामजी अधिकारीका सल्लाहमा उनलाई चितवन पठाइयो । त्यहाँ सुरुआती अवस्थामा उनलाई निकै सकस भयो । हेटौँडामा घर नजिकै थियो तर चितवन आएपछि उनलाई केही न्यास्रोसमेत लाग्यो । चितवनमा आश्रम व्यवस्थापन गर्न निकै कठिनाइसमेत भएको उनको अनुभव छ । ‘सुरुआती अवस्था थियो, आश्रमको दोस्रो शाखा थियो, व्यवस्थापन गर्न निकै चुनौती थियो, शुरुमा कसैको सहयोग थिएन’, लामाले भनिन् ‘आश्रमबाटै भागेर जाऊँ जस्तै भयो तर ती अबोध बालबालिका र सहाराविहीन मानिसहरूको अवस्था देख्दा मन सम्हालेर सेवामा लागेँ ।’
उनी केही समयपछि काठमाडौँ शाखामा गइन् । त्यहाँ पुगिसक्दा आश्रमका विषयमा केही सकारात्मक समाचार बाहिर आउन थाल्यो, सबैले चिन्न थाले आश्रमलाई सहयोग आउन थाल्यो । पछि २०७४ सालमा बागलुङ शाखाका लागि अध्यक्ष अधिकारीले तीन महिनाका लागि उनलाई बागलुङ पठाए । तर, त्यस यता लामा बाग्लुङमै छिन्
जीवनकै लक्ष्य मानव सेवा
लामा आफ्नो जीवनको लक्ष्य नै मानवसेवा रहेको बताउँछिन् । उनी आफू अब मानव सेवामै समर्पित भएर लाग्ने सुरमा छिन् । बाग्लुङ शाखालाई आफ्नै भवनबाट सेवा दिने बनाउने र अन्य शाखा विस्तारमा समेत भूमिका खेल्ने उनले बताइन् । ‘जीवनको लक्ष्य नै मानवसेवा हो, भविष्यको कुरा त कसले देखेको छ र ? म सात वर्षदेखि यसै क्षेत्रमा छु, बागलुङ शाखाको भवनसमेत निर्माण गर्न शुरु भएको छ’, लामाले भनिन् ‘कहिले गोरखा त कहिले पोखराको शाखामा तालिम तथा गोष्ठी चलाउन पुगेको छु, कहिले सडक नाटक चलाउन देश दौडाहामा ।’ सडक नाटकमार्फत मानवीय सेवाको भाव झल्काउन ठूलो मद्दत पुगेको उनको अनुभव छ ।
सानै उमेरमा ४९ जना ‘बेसहाराकी आमा’ बन्न पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । मुठ्ठी दानबाट सञ्चालित बागलुङ शाखामा अहिले सडकापेक्षी, बेसहारा, अपाड्डता र मनोरोगी आश्रित छन् । आश्रम स्थापनाका लागि सुरुआती चरणमा मनिष रायमाझी अहिले शिव खड्काका नेतृत्वमा सामाजिक स्वय्ंसेवी टोलीको सहयोग स्मरणीय रहेको लामा बताउँछिन् ।
आश्रम नै घर
लामालाई आफू जन्मेको घर बिर्सिसके जस्तो लागेको छ । अहिले उहाँलाई आश्रम नै घर जस्तो लाग्छ । बाबाआमा भेट्न घर जान समेत उहाँलाई फुर्सद छैन । ‘अहिले त आश्रम आफ्नै घर जस्तो लाग्छ, बालबालिका आफ्नै छोराछोरी जस्तो लाग्छ’, लामाले भनिन् । आफ्नो जन्मघर जानै फुर्सद नभएको बताउने लामाले घर पुगेपछि आमाले सुमिराका छोराछोरीले के खालान् भनेर सिन्कीको गुन्द्रुक सहितका सामग्री पोको पारेर पठाउने गरेकी छन् । मकवानुपर, हेटौँडा–८ कमानेमा जन्मिएकी लामाका बाबाआमाले सुरुआती चरणमा मानवसेवाप्रतिको छोरीको रुचिलाई नकार्रेकी थिइन् ।
पढाइ, लेखाइ भएकी छोरी अर्काको सेवामा समय खेर फालेको भनी उनीहरु रुष्ट भएका थिए ।‘एक पटक बाबाआमाले आश्रममा आउँदा शौचालय सफा गर्दै गरेको देख्नुभएछ, घरमा गएर पढेको छोरी यस्तो काम गर्छे भन्दै रुनुभएछ’, लामाले स्मरण गर्दै भनिन्, ‘पछि विस्तारै गाउँलेबाट मेरो कामको प्रशंसा सुनेपछि चित्त बुझाउँदै जानुभएको रहेछ ।’ पछिल्ला वर्षमा मानवसेवामा समर्पित आफ्नी छोरीको साहस, योगदान र भूमिकाको चौतर्फी चर्चा, परिचर्चापछि अभिभावकले गर्व गर्ने गरेको लामा बताउनुहुन्छ । आश्रम स्थापनाको १० वर्षमा मानवसेवा आश्रमका २२ शाखा सञ्चालित छन् । अहिले बागलुङ शाखाको भवन निरयघाटमा निर्माणाधीन छ ।







