मकवानपुरगढीले विद्यालयमै पुगेर खोप लगाइदिने
हेटौंडा-मकवानपुरगढी गाउँपालिकाले हरेक विद्यालय क्षेत्रमै पुगेर बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने भएको छ ।
मकवानपुरगढीका विद्यालयमै गएर १२ देखि १७ वर्षसम्मका बालबालिका र किशोरकिशोरीहरुलाई कोभिडविरुद्धको खोप मोडेर्ना खोप लगाइने गाउँ– पालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवप्रसाद लामिछानेले जानकारी दिए ।
‘मकवानपुरगढीका हरेक सामुदायिक बिद्यालयमा गएर आउँदो पुस ४ र ५ गते खोप लगाउन लागिएको छ । खोप कार्यक्रमको सबै तयारी भइसकेको छ ।’, स्वास्थ्य शाखा प्रमुख लामिछानेले भने । हरेक बिद्यालयमा गएर खोप दिनका लागि स्वास्थ्य शाखाबाट सबै खालका तयारी समेत गरिएको उनले बताएका हुन् । कोरोनाको नयाँ भेरिएन्टबाट बच्नका लागि पनि अपनाउनुपर्ने साबधानीका बिषयमा प्रचारप्रसार गरिएको र किशोरकिशोरीहरुलाई पनि खोप दिन लागिएको लामिछानेले बताए ।
अमेरिकी कम्पनी मोडेर्नाको थप १४ लाख ९७ हजार मात्रा खोप नेपाल ल्याइएको छ । बिद्यालयहरूमा रहेका विद्यार्थी संख्याका आधारमा खोप पठाइँदै छ । यस पटक अस्पतालबाहेक विद्यालय नै खोप केन्द्र रहनेछ । मकवानपुरका अन्य स्थानीय तहहरुले पनि कोभिडविरुद्धको खोप लगाउँदै छ ।







