ग्यास व्यवसायी संघले ग¥यो साधारणसभा
हेटौंडा-मकवानपुर ग्यास व्यवसायी संघले नवौं वार्षिक साधारणसभा गरेको छ । संघले शनिवार वनभोजसहित हेटौंडा–५, दक्षिणकाली मन्दिरमा साधारणसभा गरेको हो । सभालाई सम्बोधन गर्दै ग्यास बिक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले व्यावसायीहरुको संरक्षण गर्नु संघको प्रमुख दायित्व भएको बताएका छन् । उनले ग्यास व्यवसायीहरुको संरक्षण गर्दै व्यवसाय विस्तारमासमेत संघले ध्यान दिनुपर्ने अर्यालले बताएका छन् । संघका अध्यक्ष दिलिश गोविन्द जोशीको सभाध्यक्षता महासंघका अध्यक्ष अर्यालको प्रमुख अतिथ्यतामा सभा भएको थियो ।
मकवानपुर ग्यास व्यवसायी संघका अध्यक्ष जोशीले ग्यास बेचेर मात्रै जीविकोपार्जन चलाउन व्यवसायीहरुलाई अप्ठेरो परेको बताए । उनले मकवानपुरमा रहेका ग्यास बिक्रेता व्यवसायीहरुलाई अन्य व्यवसायपनि सञ्चालन गर्न सुझाव दिएका छन् । ग्याससँगै अन्य व्यवसाय सञ्चालन गर्नका लागि संघले खडा गरेको भलाई कोषमा जोडिन व्यवसायीहरुलाई जोशीको आग्रह छ । उनका अनुसार भलाई कोषले हालै १ करोड बढी लागतमा पानी उद्योग र निकट भविष्यमा अन्य व्यवसायीहरुपनि सञ्चालन गर्ने तयारी गरेको छ ।
मकवानपुर ग्यास व्यवसायी संघले साधारणसभाको अबसर पारेर मकवानपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ । संघले २०५१ सालदेखि हेटौंडामा ग्यास बिक्रेताको काम गर्दै आएका अग्रज व्यवसायी पिताम्बर ढकाललाई सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल ग्यास व्यवसायी महासंघका बागमती प्रदेश अध्यक्ष राधिका महर्जन, उद्योग वाणिज्यका वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, ग्यास व्यावसायीका संस्थापक अध्यक्ष धनप्रसाद पौडेल, साहारा ग्यास उद्योगका प्रमुख खड्क थापा, बाबा ग्यास उद्योगका प्रमुख विमल कालाखेती, मकवानपुर होटल एसोसिएसनका अध्यक्ष शंकरलाल श्रेष्ठलगायतको आतिथ्यता थियो ।







