मकवानपुरमा ४६ हजार मेट्रिक टन धान उत्पादन
हेटौँडा (रासस)- मकवानपुरमा यसवर्ष ४६ हजार ६७७ मेट्रिक टन धान उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको अनुसार गत वर्षका तुलनामा
यसवर्ष जिल्लामा उत्पादनमा वृद्धि भएको हो । गतवर्ष ४४ हजार ४० मेट्रिकटन उत्पादन भएकामा यसवर्ष ४६ हजार ६७७ मेट्रिकटन उत्पादन भएको केन्द्रका सूचना अधिकारी मिनबहादुर पुनले जानकारी दिए । उनको अनुसार यस वर्ष दुई हजार २५७ मेट्रिकटनले उत्पादन बढेको हो ।
जिल्लामा यसवर्ष ३.७४ प्रतिहेक्टर उत्पादकत्व भएकामा गत वर्ष ३.७ प्रतिहेक्टर उत्पादकत्व रहेको थियो । उनले आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा, कृषकमा कृषिसम्बन्धी ज्ञान तथा उन्नत बीउबीजनका कारण जिल्लामा धान उत्पादन बढेको जनाइएको छ । जिल्लामा कुल १३ हजार ४२० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको उनको भनाइ छ ।
उक्त क्षेत्रफलमा अनुमानित ५० हजार १९० मेट्रिकटन उत्पादन हुनुपर्नेमा बेमौसमी वर्षाले तीन हजार ५१३ मेट्रिकटन धान क्षति भएको
सूचना अधिकारी पुनले बताए । जिल्लामा सावित्री, सावा, रामधान, मकवानपुरे, वारलगायत धान लगाइन्छ । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ । सबैभन्दा धेरै मनहरी गाउँपालिकामा धान खेती हुने गरेको छ । त्यहाँ तीन हजार ९ सय २५ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गरेको छ । हेटौँडा उपमहानगरपालिकामा दुई हजार, थाहा नगरपालिकामा २ सय, बागमतीमा दुई हजार ७ सय, बकैयामा एक हजार ७ सय, मकवानपुरगढीमा एक हजार ४ सय, कैलाशमा एक हजार १ सय, भिमफेदीमा २ सय, राक्सिराङमा १ सय ५० र इन्द्रसरोबर गाउँ– पालिकामा ४५ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको केन्द्रले जनाएको छ ।







