गाउँमा निर्माण हुँदै अस्पताल

साझाकुरा
२०७८ पुष ८, बिहीबार १२:४५

हेटौंडा-सदरमुकामसँग नजिक भएरपनि स्वस्थ्य उपचारमा पछाडि परेको मकवानपुरगढी गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकासमा फड्को मार्ने भएको छ । उपचार गर्न काठमाडौं र चितवन धाउनु पर्ने बाध्यता भएका गाउँबासीले अब गाउँमै बन्न लागेको अस्पतालबाट उपचार सेवा पाउने भएका छन् ।

मकवानपुरगढी–६, स्थित डुम्रेकुनामा अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गाउँमा अस्पताल नुहँदा समस्या भोग्दै आएका पालिकाबासीले अब स्थानीय स्तरमै उचित स्वास्थ्य उपचार पाउने भएका हुन् । गाउँपालिकाले संघीय सरकार र आफ्नो लगानीमा १५ शøयाको अस्पताल निर्माण गरिरहेको हो ।

मकवानपुरगढी १५ शøया अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने मकवानपुरको पहिलो स्थानीय तह हो । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा नै अस्पताल निर्माणका लागि संघीय सरकारलाई बजेट मागेको थियो । जिल्लाका ५ स्थानीय तहले भने चालु आर्थिक वर्ष २०७७÷ ०८७ को दोस्रो चौमासिकमा आएर मात्रै अस्पतालको शिलान्यास गरेका छन् । ५ स्थानीय तहमध्ये थाहा नगरपालिका, मनहरी गाउँ पालिकामा १५–१५ शøया, राक्सिराङ र कैलाश गाउँ– पालिकामा १०–१० शøया र इन्द्रसरोबर गाउँपालिकामा ५ शøयाको अस्पताल बनाउन लागेको छ ।

तीनवर्षभित्र अस्पताल निर्माण गरिसक्नु पर्ने सम्झौतामा भएपनि निर्माण कम्पनीले निर्धारित समय अगावै अस्पताल तयार गर्ने भएको छ । अस्पताल भवन एकवर्ष अघिदेखि निर्माण सुरु गरिएको थियो । अस्पताल निर्माणको ठेक्का पाएको सुन्दर नेपाल÷ओमसाई जेभीले पाएको थियो । गत असारमै ठेक्का सम्झौता गरेपनि निर्माण कम्पनीले ५ महिनापछि अस्पताल निर्माण सुरु गरेको थियो । अस्पताल निर्माणका लागि डुम्रेकुनाका नरबहादुर स्याङतान र बीरबहादुर लुङ्बाले जग्गा दान गरेका थिए । स्याङ्तान र लुङ्बाले दान गरेको ९ रोपनी जग्गामा अस्पताल निर्माण सुरु गरिएको गाउँपालिकाका इन्जिनियर सुवास अधिकारीले जानकारी दिए ।

‘निर्माण कम्पनीले निर्धारित समयभित्रै अस्पताल निर्माण सक्न हामीले निर्देशन दिइसकेका छौं ।’, गाउँपालिका अध्यक्ष बिदुर हुमागाईंले भने । अस्पतालबाट करिब चार महिनापछि स्वास्थ्य उपचारको सेवा प्रदान गरिने ६ नम्बर वडाका वडा अध्यक्ष टिकाप्रसाद दहालले बताए । निर्माण कम्पनीले कठिन अवस्थामा पनि कामलाई निरन्तर गतिमा गरिरहेकाले अस्पतालको भवन निर्माण छिटै सम्पन्न हुने भएको वडाध्यक्ष दाहालले बताए । उनका अनुसार अस्पताल परिसरभित्र बन्ने टिकट काउन्टरको भवन र कर्मचारी बस्ने भवन बन्न बाँकि रहेको अध्यक्ष दहालले बताउँछन् ।

विगतमा सडक पूर्वाधार र गाउँमै उपयुक्त उपचार नहुँदा बिरामीलाई जिल्ला अस्पतालसम्म ल्याउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउने गरेको दुःखद् घटना छन् । अब गाउँपालिका बासीले उपचारकै अभावमा ज्यान गुमाउनु नपर्ने गाउँपालिका अध्यक्ष हुमागाईंले बताए । ‘विगतमा उपचार गर्न हेटौंडा जानुपथ्र्यो, सडकको सहज पहुँच थिएन् । गाउँमै राम्रो उपचार नहुँदा धेरैले ज्यान गुमाउनु परेको घटना विगतमा थियो । अब गाउँपालिकाले आफ्ना जनतालाई उपचारबाट बञ्चित हुन दिँदैन् ।’, हुमागाईंले भने । अस्पताल ३ तलाको बन्ने इन्जिनियर अधिकारीले जानकारी दिए ।

गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मै अस्पतालको आवश्यकता महशुस गरी संघीय सरकारलाई ९ करोड ४० लाख रुपैयाँको डीपीआर बनाएर बजेट माग गरेको थियो । गाउँपालिकाको आग्रहलाई आत्मसाथ गर्दै संघीय सरकारले ९ करोड ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको अधिकारी बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*