रिद्धिसिद्धि खानी विवाद समस्या सुल्झाउने प्रयत्न

साझाकुरा
२०७८ पुष ९, शुक्रबार ०९:२८

हेटौंडा-हेटौंडा–१५  रातोमाटेमा संचालित रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी विवादबारे सर्वदलीय, सर्वपक्षीय छलफल  गरिएको छ । जिल्लाको विकट क्षेत्र राक्सिराङ–४ गिङ्गुमा खानी संचालन गर्दै आएको रिद्धिसिद्धिमा खानी विवाद चर्किँदै आएको थियो । स्थानीयले बस्ती क्षेत्र जोखिम, खानी क्षेत्रमा मनलाग्दी उत्खनन्– लगायतका समस्या राख्दै आएका थिए । स्थानीयको माग सम्बोधन बिना अघि बढ्दा चर्किएको विवाद बारे गाउँपालिकाको पहलमा छलफल अघि बढाइएको हो ।

स्थानीयको गुनासो, माग र खानी संचालनका अप्ठ्यारा बारे सरोकारवालाले ध्यान दिँदै छलफल अघि बढाएका हुन् । छलफलमा खानी सञ्चालन गर्न कसैले अवरोध गर्न नहुने र खानी सञ्चालनको नाउँमा स्थानीयका माग र सम्झौताहरुलाई मिच्न नहुने आवाज उठेको हो । छलफलमा रहेका प्रतिनिधिहरुले खानी संचालनमा पूर्ण रुपमा रोक नलगाउँदै उत्खनन् अघि बढाउने र स्थानीयको मागलाई उच्च ध्यानमा राखेर सम्बोधन गरेर अघि बढ्न सुझाव दिएका थिए ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपालगायत  राजनीतिक दलका गाउँपालिका तहका प्रतिनिधिहरु तथा जनप्रतिनिधि र उद्योगका प्रतिनिधिहरुबीच छलफल भएको थियो । छलफलले गाउँपालिका अध्यक्ष राजकुमार मल्लको नेतृत्वमा सबै राजनीतिक पार्टीका प्रतिनिधिहरु र प्रभावित वडाका वडाध्यक्षहरु सम्मिलित समिति निर्माण गरी खानी सञ्चालनका लागि स्थानीय बासिन्दाको मागहरुका सम्बन्धमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

समितिले स्थलगत अवलोकन र अन्य विवादका  कुराहरुबारे अनुसन्धान गरी प्रतिवेदन पेस नगरेसम्म ढुंगा उत्खनन् कार्य हुन नदिने र हालका लागि बाटो निर्माण कार्यलाई अघि बढाउने निर्णय भएको छ । समितिका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला र सल्लाहकारहरुमा माननीय ओमबहादुर ग्लान, सन्त– बहादुर चेपाङ र गोविन्दराम चेपाङ रहेका छन् ।  ‘समितिले अब स्थानीयका मुद्दाहरु संकलन गरी आवश्यक सहजीकरण गर्नेछ’, समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले भने ‘सबैखाले समस्याहरु र तिनको समाधानका बारेमा हामी सामूहिक निर्णय गर्छौ र आवश्यकता अनुसार सिमेन्ट उद्योगलाई निर्देशन दिएर समस्या हल गर्छाै ।’

छलफलमा मनहरीबाट पहाडी गाउँहरुमा पुग्ने सडकहरुमा अत्यधिक धूलो उडेकाले नियमित रुपमा पानी हाल्नुपर्ने व्यवस्था हुनुपर्ने कुरा उठान भएको थियो । त्यसैगरी स्थानीय युवाहरुले आफ्ना तर्फबाट ढुवानीका साधनहरुको व्यवस्था हुने भन्दै क्षमता अनुसारको रोजगारी र व्यवसायको अबसर दिनुपर्ने माग  गरेका थिए ।

स्थानीय सरोकार समितिको तर्फबाट भने खानी क्षेत्रको पहिचान भएका क्षेत्रहरुका प्रभावित बासिन्दाहरुको उचित व्यवस्थापन नभएको, ढुंगा गुल्टेर घरमा आउने अबस्था रहेको जस्ता समस्याहरु प्रस्तुत भएको थियो । ढुंगा उत्खनन् गर्दा तल्लो भेगका पानीका मुहान सुकेको र धमिलिएको पनि छलफलमा कुरा उठेको थियो ।

उद्योगका सम्बन्धमा उठेका कुराहरुको जबाफ दिँदै उद्योगका तर्फबाट खानीका महाप्रबन्धक गणेश कुमार सिंहले स्थानीयसँग भएको सम्झौताको कार्यान्वयन बिस्तारै हुँदै गइरहेको बताए । उनले पीडित र प्रभावितहरुको जग्गा बिक्री गरी केही ब्यक्तिहरुले बिचल्ली पारेको सन्दर्भमा उठेको सबालमा उनीहरुको न्यायका निम्ति जिल्ला प्रशासन कार्यालयमा जानका लागि आफूले सहजीकरण गरेको र आगामी दिनमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा वडाध्यक्ष सञ्जय कोइरालाले आफूले केही दिनअघि जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखि मानवीय क्षति नहोस् भन्ने हेतुले सबैलाई जानकारी गराएपनि खानी क्षेत्रमा पुग्ने बाटो जबरजस्त बनाएर झन् द्वन्द्व बढाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।  उनले वार्ता र छलफलका लागि आफूले जिल्ला प्रशासन कार्यालयसहित सबैलाई ध्यानाकर्षण गराएको भन्दै खानी बन्द गर्ने लक्ष्य कसैको नरहेको बताए । वडा नं ५ का वडाध्यक्ष चन्द्रसिंह चेपाङले बाटोको अबस्था राम्रो नभएको र धुलो उठेर पैदल यात्री तथा साना सबारी साधनलाई अप्ठ्यारो पर्ने गरेको बताए ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणप्रसाद न्यौपानेले कानूनी प्रक्रिया पूरा गरेर आएको उद्योगले जनतासँग गरेका बाचा पूरा नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरे । र, तत्कालै स्थानीयका माग सम्बोधनका लागि ध्यान दिन उद्योगका प्रतिनिधिहरुलाई आग्रह गरे । संविधानसभा सदस्य गोविन्दराम चेपाङले खानी सञ्चालनको बिषयमा सरोकारवालाहरु जानकार हुनुपर्ने र निरन्तर छलफल र वार्ता बाटै समस्या समाधान निस्कनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका  बीरेन्द्र जिम्बा, नेकपा एमालेका  सिंहराम रुम्बा (रोहन), नेकपा माओवादी केन्द्रका इन्द्र थिङ, नेकपा एकीकृत समाजवादीका ज्ञानेन्द्र तामाङ, राप्रपाका सर्बश्री मुक्तान, सञ्चारकर्मी शिवकुमार काशी,  सरोकार समितिका अध्यक्ष गोपाल मुक्तान, युवा व्यवसायीको तर्फबाट क्षेत्रबहादुर मुक्तानलगायतले व्यवसायिकताको कुरा मात्रै भन्दा पनि खानी सञ्चालनको बिषय आम  सरोकारवालाको बिषय भएकाले बिगतमा गरिएका गुपचुपका सहमति र सम्झौताका कारण समस्या  आइरहेको बताए ।

गाउँपालिका अध्यक्ष  राजकुमार मल्लको अध्यक्षतामा कार्यक्रम भएको हो भने प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले सहजीकरण गरेका थिए । बैठकमा बानियाँ निर्माण सेवाका नवराज खतिवडा, मोतिदान कन्ट्रन्क्सनका रामबहादुर गौतमको पनि उस्थिति थियो भने मनहरी र राक्सिराङ गाउँपालिका क्षेत्रका युवाहरुको बाक्लो उपस्थिति रहेको थियो । राक्सिराङ–४ नं वडाध्यक्ष सञ्जय कोइरालाले केहि साताअघि मकवानपुरका प्रमुख जिल्ला  अधिकारीसमक्ष पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उनले समस्याको हल नभएसम्म खानी सम्बन्धी कुनै पनि क्रियाकलाप गर्न नदिन प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका थिए । वडाध्यक्ष कोइरालाले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रस्तुत गर्नु भएको ध्यानाकर्षण पत्रमा प्रमुख जिल्ला अधिकारीसहित  सरोकारवालाहरु बसेर मनहरी–चैनपुर–रतुवा–खैराङहुँदै कैलाश गाउँपालिकासम्म अस्थायी बाटो निर्माणका लागि रिद्धिसिद्धि सिमेन्ट उद्योगलाई आग्रह गर्ने भनिए पनि बाटो निर्माण गरिँदा वातावरणीय प्रभाव मूल्यांकन नभएको स्थान अर्थात सिमेन्ट उद्योगको खानी क्षेत्रमा समेत अघि बढेकाले तत्काल उक्त कार्य बन्द गर्न आग्रह गरे थिए ।

स्थानीय सल्लाघारी सामुदायिक वन क्षेत्रमा पर्ने ४.५ किलोमिटर उक्त सडक निर्माण गर्दा यसअघि पनि सामुदायिक वनका पदाधिकारीहरु वन सम्बन्धी मुद्दा बोक्न बाध्य भएको घटना वडाध्यक्ष कोइरालाले स्मरण गराएका थिए । २०७८ साल कात्तिक २८ गतेका दिन रिद्धिसिद्धि सिमेन्ट उद्योगको खानी क्षेत्रमा रहेको मोतीदान कन्ट्रक्सन प्रा.लि.को प्र–०३–०१–००३ नंको एक्साभेटरमा आगजनी गरी ध्वस्त पारिएको र अन्य दुईवटामा क्षति पु¥याइएको घटनाले गाउँका बासिन्दा त्रसित रहेकाले उक्त घटनामा संलग्नहरुलाई तत्कालै पक्राउ गरी कारबाही गर्न मागसमेत अघि बढाइएको थियो ।

रिद्धिसिद्धिमाथि खानी सञ्चालन गर्नुअघि स्थानीयबासिन्दा, जनप्रतिनिधि, व्यवसायी, खानी सञ्चालक र सरोकारवालाहरुबीच पटक पटक भएका सहमति र सम्झौता कार्यान्वयन नहुँदा उत्खनन्कर्ता कम्पनीहरु बानियाँ निर्माण सेवा र मोतीदान कन्ट्रक्सन प्रा.लि.ले स्थानीय व्यवसायीहरुलाई पाखा लगाउने, समन्वय नगर्ने र बलजफ्ती प्रहरी र प्रशासन प्रयोग गरी काम लगाउने शैली अपनाएको आरोप छ ।

जसका कारण स्थानीय व्यवसायीहरुबीच झडप, कुटपिट, भागदौड र मुद्दामामिला बढी वातावरण असहज भइरहँदा मानवीय क्षति समेत हुन सक्ने अबस्था देखिएकाले तत्कालै स्थानीय बासिन्दाको मागको सम्बोधन र यसअघिको सहमति तथा सम्झौताको कार्यान्वयनका लागि पहल गर्नुपर्ने जनप्रतिनिधिहरुले माग राख्दै आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*