जीवन बित्यो, पक्की सडक देख्न पाइएन

कान्ति लोकपथमा पसिना बगाउनेहरुको व्यथा
साझाकुरा
२०७८ पुष १०, शनिबार ११:२०

हेटौंडा-२०११ सालमा तत्कालीन राजा महेन्द्र शाहले आफ्नो निर्देशनमा ट्रयाक खन्न लगाएको हेटौंडा–काठमाडौं  जोड्ने ९२ किलोमिटर सडक अझै अधुरो छ ।  ६६ बर्षको अन्तरालमा मुलुकमा प्रजातन्त्रदेखि संघीय गणतान्त्रिक लोकतन्त्र व्यवस्था कार्यान्वयन भइसकेको अवस्थामा एउटा ९२ किलो मिटरको सडक पूरा निर्माण हुन नसक्नु कतिको दुखदायी हो ? सजिलै मनन् गर्न सकिन्छ । मुलुकमा भएको  राजनीतिक परिवर्तन नियालिरहेका अहिलेका पुस्ताका लागि त्यो समयकालका सर्वसाधारण जनताले देखेको सपना अझै पुरा हुन नसकेको बताउँदा उनीहरुलाई कथा जस्तो लाग्नु कुनै नौलो कुरा होइन ।

राजा महेन्द्रले तत्कालीन कान्ति राजपथ निर्माणको योजना अघि सारेपछि पिक, कोदालो र साबेल बोकेर पहाड खन्न उत्रिएका कयौंको निधन भइसक्यो, सयौंको केश फुलिसक्यो भने त्यतिबेला पूर्वाधार विकासका लागि योगदान पु¥याएका बृद्धहरु अहिले आँगन अगाडि लौरो टेकेर आफ्नो घर छेवैमा सरर गाडी गुडेको हेर्न लालायीत छन् ।

कान्ति लोकपथको बाटोहुँदै काठमाडौंमा छोरा बुहारी भेट्ने इच्छा

हरिबहादुरका कान्छा छोरा–बुहारी हाल काठमाडौंमा बस्दै आएका छन् । आफ्नो घर छेवैको बाटोमा गाडी नगुड्दा उनी हेटौंडा–कुलेखानी छोटो मार्ग र त्रिभुवन  राजपथहुँदै छोरा–बुहारी भेट्न काठमाडौं जाने गरेका छन् । घर छेउको सुनासान बाटो नियाल्दै दिन बिताउँदै आएका उनले एक पटक कान्ति लोकपथहुँदै गाडि चढेर काठमाडौंमा छोरा बुहारी भेट्ने इच्छा रहेको व्यक्त गरे । ‘छोरा बुहारी काठमाडौंमा छन् ।’ उनले बाटोतर्फ देखाउँदै भने ‘एक पटक यहि बाटोमा गाडि चढेर काठमाडौं जाने ठूलो इच्छा छ ।’ उनी निराश हुँदै भन्छन् ‘अब त मनको लड्डु घ्युसँग जस्तो भइसक्यो, अब बने के, नबने के’

११ वर्षको उमेरमा पिक चलाएका खिलबहादुर

२०११ सालदेखि २०१६ सम्म बाटोको ट्रयाक खन्न सर्वसाधारण परिचालन गरिएका मध्ये हरिबहादुर एक पात्र मात्र हुन् । उनीसँगै बाटो खन्न जुटेका अर्का ७८ बर्षीय बृद्ध ह्न् मकवानपुरगढी–२ बरभञ्ज्याङ् निवासी खिलबहादुर भोम्जन । ललितपुरस्थित शंखुमा जन्मिएका उनी २०२४ सालमा मकवानपुरगढी बसाईं सरेर आए । २०११ सालमा कान्ति लोकपथ निर्माणका क्रममा उनले चापागाउँदेखि छबेलीसम्म १४ किलो मिटर खन्ने काममा जुटे । हरिबहादुर जस्तै पिक, कोदालो र साबेल बजार्दै सडक खन्न जुटेका खिलबहादुरले दिनको २ माना चामलका भरमा हार्ड खिइनेगरी काम गरे । चार वर्षको अन्तरालमा उनी सहित करिब एक सय बढीको टोलीले १४ किलो मिटर ट्रयाक खन्यो ।

‘दिनको २ माना चामलको भरमा ५ वर्षसम्म काम गरियो ।’ उनले भने ‘त्यो दुःख सम्झिँदा अनि अहिलेसम्म बाटो पुरा नहुँदा बैराग लागेर आउँछ ।’ १३ बर्षको उमेरमा आफुभन्दा ४ महिनाले जेठीसँग विवाह भएपछि उनी थप मेहेनत गर्न बाध्य भए । तोकिएको भन्दा दुई घण्टा बढी काम गरेबापत उनले थप एक पाथी मकै पाएको सम्झन्छन् ।

२०१६ मा तत्कालीन  राजा महेन्द्र शाह आफैले गाडि चलाएर काठमाडौंबाट हेटौंडा गएको खिलबहादुरलाई याद छ । ‘राजा महेन्द्रले आफैले गाडि चलाएर काठमाडौंबाट हेटौंडातर्फ जाँदै गर्दा हाम्रो टोली छबेलीमा काम गर्दै थियो ।’ उनले भने ‘एक्कासी राजाको सवारी भएपछि हाम्रो १ सय ५० जनाको टोली हेरेकोह¥यै भयौं ।’ उनको घर अगाडी  बरभञ्ज्याङ्मा सडक पिच भइसकेको छ । अहिले उनले त्यहि सडक छेउमा सानो किराना पसल राखेका छन् । आफ्नो घर नजिक पिच भएपनि सडक पुरा भएको छैन । बाल्यावस्थामा खनेको सडक बृद्ध हुँदासम्म बनेन । उनले दुःख व्यक्त गर्दै भने । आफु ज्यँदै हुँदा सडक निर्माण सम्पन्न भएर गाडि गुडेको हेर्ने इच्छा रहेको उनले बताए । हाल उनी दिनभर चोयाको डोको बनाएर दिन बिताउँछन् ।
सिंगापुरे आर्मीको जागिर छाडेका सिद्धिमान

२०१४ देखि २०१७ सालसम्म सिंगापुरे आर्मीमा कार्यरत ८४ बर्षीय सिद्धिमान घिसिङको व्यथा अलि फरक छ । १९९३ सालमा ललितपुरको शंखुमा जन्मिएका सिद्धिमानको  परिवार २०११ सालमा मकवानपुरगढी–२ बरभञ्ज्याङ बसाईं सरेर आयो । बसाईं सरेरै आएको बर्ष बाढीपहिरोले उनको घरखेत सबै बगायो । परिवारका तीन सदस्यले ज्यान गुमाए । त्यतिबेलाको बाढीले आफ्नो परिवारमा ठूलो क्षति पु¥याएको उनले बताए ।
बाढीले क्षती पु¥याएपनि उनले २०१४ सालमा राम्रो अवसर पाए, उनी सिंगापुरे आर्मीमा भर्ती भए । २१ बर्षको उमेरमा सिंगापुरे आर्मीमा भर्ती भएपनि आफुले ३ बर्ष मात्र काम गरेको उनले स्मरण गरे । ‘त्यतिबेला २१ बर्षको उमेरमा सिंगापुरे आर्मीमा भर्ती भएँ ।’ उनले भने ‘अहिले मेरो जीवन सुन्दर हुन्थ्यो तर, ३ वर्ष पुगेपछि जागिर छाडेर गाउँ फर्किएँ ।’

उनी छोटो समयमै गाउँ फर्किनुको कारण थियो तत्कालीन कान्ति राजपथ । घर नजिकै सडक ट्रयाक खुलेको खबर पाएपछि अब गाउँको विकास हुने सोचेर फर्किएको उनी बताउँछन् । त्यतिबेला टूयाक खुलेको खबर सुनेपछि गाउँमै बस्ने सोच बनाएर फर्किएका सिद्धिमान अहिले निराश छन् । ‘त्यतिबेला बाटो बनेको खबरले जागिर छाडेर आएँ । कति दुःख पाइरहेको छु ।’ उनले भने ‘मर्ने बेला हुन लागिसक्यो अहिलेसम्म गाडि गुडेको देख्न पाइएन ।’

अझैपनि बन्दै छ, कान्ति लोकपथ
लामो समयसम्म छाँयामा परेको कान्ति लोकपथमा अब दुइतर्फी मोटर गुड्ने सक्ने बन्दैछ । यो परियोजना सम्पन्न भए पश्चात् हेटौंडाबाट ९० किलोमिटर दुरीमा रहेको काठमाडौं २ घण्टामै पुग्न सकिने छ ।  ऐतिहासिक मकवानपुर गढीसमेत पर्ने यो सडक खण्डको स्तरोन्नति हुन थालेसँगै आसपासका क्षेत्रमा चहलपहल बढ्न थालेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने यो सडक ५१ किमि सडक खण्ड मकवानपुर जिल्लामा र बाँकी ३९ किमि ललितपुर जिल्लामा पर्दछ । मकवानपुरतिर ९ वटा चेनेजहरु छन् । बुद्धचोकबाट चौघडा ४.५ किलोमिटर छ ।
चुच्चेखोलासम्म आइपुग्दा ७.५ किमि, हटिया १० किमि, शिखरकटेरी ११.५०० किमि, मकवानपुरगढी १७.५०० किमि, जितपुर २२ किमि, सिमात २९ किमि, ठिङगन ४२ किमि, बगुवा बागमती खोला ५१ किमिमा पर्छ ।

मकवानपुरमा पर्ने सडकको लगभग सबै खण्ड पीच भइसकेको छ । केही स्थानमा पीच गर्ने काम धमाधम भइरहेको छ । बगुवा खोलादेखि ७ किलोमिटर बाटो सम्माउने काम भइरहेको छ भने, अन्य स्थानमा कुनै समस्या रहेको छैन ।  बगुवाबाट काल्चे, छपेली, झाँक्रीडाँडा, तिनपाने, टीकाभैरव, चापागाँउ, सातदोबाटोसम्म ३९ किलो मिटर रहेको छ । यो सडक खण्डको धेरै जसो सडक पीच भइसकेको छ । टीकाभैरवदेखि बगुवासम्मको सडकखण्ड पहिरोको चपेटामा पर्ने गरेको छ । यो खण्डको हरेक १०० मिटर जस्तोमा पहिरो रहेको छ ।

अधिकांश खण्डमा धमाधम काम भइरहेको छ। बग्न सक्ने सम्भावित स्थानको पहिचान गरी ढलान बनाउने काम तिब्रगतिमा भइरहेको छ । केहि स्थानमा सडकलाई सुरक्षीत बनाउने र बर्खामा पहिरो जान सक्ने सम्भावित र साँघुरा स्थानहरुमा मेसिनरी वाल लगाउने, नालाहरु बनाउने काम पनि भइरहेको छ । अहिले १० वटा प्याकेजमा ठेक्का लगाएर काम भइरहेको आयोजनाले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*