मकवानपुरमा ९८.३० प्रतिशतले जिते कोरोना
हेटौंडा÷कोरोना संक्रमणको महामारी अझै कायमै छ । कोरोनाको तेस्रो भेरियन्टको रुपमा ओमिक्रोन आएसँगै त्राससमेत बढ्न थालेको छ ।
तर, स्वास्थ्यकर्मी, विज्ञहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए त्रसित हुनुपर्ने बाध्यता नरहेको बताउँदै आएका छन् । नेपालमा कोरोना संक्रमण सुरुवात भएदेखि शनिबारसम्म मकवानपुरमा ९८ प्रतिशत संक्रमणमुक्त भइसकेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार संक्रमितमध्ये जिल्लामा ९८.३० प्रतिशत संक्रमण मुक्त भएका हुन् । जिल्लामा कोरोना संक्रमण पुष्टि हुने कुल संख्या १५ हजार ५ सय ५९ जनामध्ये हालसम्म संक्रमणमुक्त हुनेको संख्या १५ हजार २ सय ९५ जना पुगेको छ । शनिबार जिल्लामा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा १२ जनाको एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमण पुष्टि हुने दुबै जना हेटौंडा उपमहानगरपालिकाका हुन् ।
जिल्लामा हालसम्म संक्रमणका कारण १६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुर गढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनैपनि व्यक्तिको मृत्यु भएको छैन ।







