हेटौंडा क्याम्पसमा भर्ना खुलाइयो
हेटौंडा-देशकै उत्कृष्ट क्याम्पसका रुपमा पुरस्कृत हेटौंडा क्याम्पसमा नयाँ शैक्षिक सत्रका लागि बिए, बिबिएड र बिबिएसको भर्ना खुलेको छ । गतवर्ष एमएड चौथो सेमिष्टरमा ४४ दशमलव ६१ प्रतिशत ल्याएर नेपाल प्रथम भएको हेटौंडा क्याम्पसले नयाँ शैक्षिक सत्रमा भर्ना खुलाएको हो । क्याम्पस प्रमुख देवचन्द्र मानन्धरका अनुसार बिबिएस र बिएडमा ३ सय र बिएमा २ सय सिटका लागि भर्ना खुलेको हो । हेटौंडा क्याम्पसले विगतमा बिएड कक्षा मात्रै सञ्चालन गर्दै आएकोमा हाल बिबिएस र बिएका कक्षापनि सञ्चालन गरेको हो । क्याम्पसले कुल विद्यार्थीमध्ये ६ प्रतिशतलाई छात्रवृति पनि प्रदान गर्दै आइरहेको छ । महिला, जनजाती, सिमान्तकृत र विपन्न विद्यार्थीलाई छात्रवृति दिइने क्याम्पस प्रमुख मानन्धरले जानकारी दिए । उनले जिल्ला बाहिरका विद्यार्थीलाई विशेष छुटको कार्यक्रम रहेको बताए । राष्ट्रिय खेलाडी तथा ए प्लस ल्याएर उर्तीण हुने विद्यार्थीलाई ११ महिना मासिक शुल्क छुट दिँदै आएको जनाइएको छ । क्याम्पसले क र ख वर्गका अपाङ विद्यार्थीलाई पनि ११ महिना मासिक शुल्क छुट दिने कार्यक्रम रहेको मानन्धरले साझाकुरालाई जानकारी दिए ।







