काउलीभित्र गाँजा राखेर तस्करी
हेटौंडा-प्रहरीलाई झुक्याउने प्रयास गर्दै काउलीको बोराभित्र राखेर गाँजा तस्करी हुँदै गर्दा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा तस्कर गर्न नयाँ ‘आइडिया’ लगाएर बाउलीभित्र गाँजा राखेको अवस्थामा प्रहरीले साढे ६९ किलो लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो । हेटौंडा–१ स्थित पालुङ बसर्पाकमा ना १ ह ७६३८ नम्बरको अटोमा गाँजा ल्याउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार तरकारीको बोराभित्र काउली राखेर त्याहाँ गाँजा लुकाइएको थियो ।
अटो चालक मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नम्बर ५ कटहरे घर भई हाल हेटौडा–७ कमाने बस्ने ३४ वर्षीय सिताराम मोक्तान, गाँजा ओसारपसारमा संलग्न कैलाश–१ बस्ने ३३ बर्षीय अमर बहादुर गिरी र सोही ठाउँका २६ बर्षीय इन्द्रबहादुर मोक्तान पक्राउ परेका हुन् । अभियुक्तमाथि थप अनुसन्धान भइरहेको एसपी गुरुङले जानकारी दिए ।







