पत्रकारलाई पहिलो पटक सुत्केरी भत्ता

साझाकुरा
२०७८ पुष १४, बुधबार १२:०१

हेटौंडा-मकवानपुरमा पहिलो पटक सुत्केरी भएकी पत्रकारलाई प्रेस सेन्टरले सुत्केरी भत्ता उपलब्ध गराएको छ । सुत्केरी पत्रकारलाई भत्ता दिने कार्यक्रमअन्तर्गत् नेकपा माओवादी निकट संगठन प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनिता विष्टलाई पाँच हजार रुपैयाँ दिएको हो ।  १० पुसमा बसेको  सेन्टरको बैठकले महिला पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराउने निणर्य गरेको थियो । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले देशमै पहिलो पटक पत्रकारलाई सुत्केरी भत्ता उपलब्ध गराएको दावी गरेकी छन् । विष्ट विगत दुई वर्षदेखि मकवानपुरलाई कर्मथलो बनाएर पत्रकारिता गरिरहेकी छन् ।

उनले दोस्रो सन्तानका रुपमा छोरीलाई २७ दिनअघि जन्म दिएकी हुन् । हेटौंडा–११ नवलपुरस्थित विष्टको घरमै पुगेर मंगलबार सेन्टरकी अध्यक्ष थापाले नगद पाँच हजार हस्तान्तरण गरेकी थिइन् । पत्रकारितामा क्रियाशील महिलाहरुलाई सुत्केरी अवस्थामा प्रोत्साहन स्वरुप भत्ता उपलब्ध गराएको थापाले बताइन् । ‘हालसम्म नेपालमै महिला पत्रकारलाई प्रोत्साहनका रुपमा कुनै कार्यक्रमहरु नगरिएकाले सेन्टरको मकवानपुर शाखाबाटै यस कार्यक्रमको शुभारम्भ गरिएको हो ।,’ थापाले भनिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिब कृष्ण सारु मगरले सुत्केरी भत्ताले पत्रकारीतामा क्रियाशील  रहन महिलाहरुलाई प्रेरणा मिल्ने बताए । यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुरको टोलीले पनि विष्टलाई भेट गरेको थियो । महासंघका अध्यक्ष मणिराज गौतमले पत्रकार विष्टलाई पोषिलो खाने कुरा प्रदान गरेका थिए । सञ्चारिका समूहले पनि पोषिलो खानेकुरा दिएको छ ।  कार्यक्रममा पत्रकार महासंघकी उपाध्यक्ष सरला  अधिकारी, सहसचिव एमपी शर्मा लगायत उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*