मउवा संघका अध्यक्ष गुप्ताको नागरिकतामाथि रौतहट प्रशासनले थाल्यो छानबिन

साझाकुरा
२०७८ पुष १५, बिहीबार ०९:११

हेटौंडा-मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन प्रक्रियाका बीच अध्यक्षको उम्मेदवारी दर्ताकै बेला बिबादमा तानिएको कृष्णकुमार गुप्ताको नागरिकता शंकाको घेरामा परेको छ । दुई वटा थर प्रयोग गरेर व्यवसाय संचालन र विभिन्न संघसंस्थामा क्रियाशिल रहेका गुप्ताको नागरिकता नक्कली रहेको र उनी नेपाली नागरिक नभएको दाबी गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा उजुरी परेपछि शंकाको घेरामा परेको हो । अग्रवाल थरसमेत प्रयोग गरेर हेटौंडाको व्यवसायिक क्षेत्रमा देखिएका गुप्ताको नागरिकता विवाद उद्योग वाणिज्य संघको उम्मेदवारी दर्तादेखि रौतहट प्रशासनमा पुगेको हो ।
उनी संघको अध्यक्षमा निर्वाचित हुनुअघि नै नेपाली राष्ट्र र राष्ट्रियताप्रति सम्मान गर्ने देश भक्त नेपालीले गुप्ताको नागरिकता छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निबेदन दिएका थिए । तर, प्रशासनले तत्कालीन समयमा प्रक्रिया अघि नबढाएपछि गुप्ता अध्यक्षमा निर्वाचित भएसँगै नेपाली राष्ट्र र राष्ट्रियताप्रति सम्मान गर्ने देश भक्त नेपालीले गुप्ता भारतीय नागरिक भएको र रौतहटबाट फर्जी नागरिकता लिएको दाबी गर्दै प्रशासन मकवानपुरमा निवेदन दर्ता गराएको थियो ।

प्रशासनमा परेको निबेदन रौतहटसँग सम्बन्धित देखिएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले सो पत्र रौतहट पठाएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए । अहिले रौतहट प्रशासनमा गुप्ताको नागरिकतामाथि छानबिन भइरहेको छ । रौतहट प्रशासनले गुप्ताको नागरिकतामाथि छानबिन गरिरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।  गुप्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट श्रीमती कृष्ण कुमारी गुप्ता, छोरा अनिल अग्रवालको नाममा आफ्नो नाम कृष्ण कुमार गुप्ता लेखाई सनाखत गरेका छन् भने छोरी अनु अग्रवालको नागरिकतामा आफ्नो नाम कृष्ण कुमार अग्रवाल लेखाई सनाखत गरेका छन् ।

सरकारी ढड्डा नै केरमेट गरी फरकफरक नाम रहेपनि दुबैमा नागरिकता नम्बर भने १८३३ उल्लेख छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा २०७८÷७÷२८ मा निबेदन दर्ता भएको थियो । मकवानपुरले गुप्ताको नागरिकता रौतहटसँग सम्बन्धित भएको भन्दै रौतहट प्रशासनलाई पत्राचार गरेको थियो ।  रौतहटले समेत मुद्दाको प्रकृया अघि बढाइसकेको छ । जिल्ला प्रशासन कार्यालयकै निबेदनका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले गुप्तालाई तीन दिनभित्र उपस्थित हुन पत्रसमेत थमाएको थियो । गुप्तासँग जिल्ला प्रशासन कार्यालय रौतहटले बयान लिइसकेको
रौतहटका प्रमुख जिल्ला अधिकारीले बताए । रौतहट महमदपुर वडा नम्बर ३ ठेगाना लेखाई नागरिकता लिएका गुप्ताको नागरिकतामा पिताको नाम राम किसुन गुप्ता उल्लेख छ ।

राम किसुनका अन्य नातेदारहरुसँग बुझेर मुद्दाको प्रकृया अघि बढ्ने शाहीले जानकारी दिए । नातामा विवाद देखिए आफन्तहरु सँगको डिएनसमेत परिक्षण हुनसक्ने प्रजिअले प्रतिक्रिया दिए । ‘नागरिकता नक्कली भएको प्रमाणित भएमा कानुन बमोजिम प्रक्रिया अघि बढ्ने छ ।’ उनले भने, ‘हामी अनुसन्धानको क्रममा छौं, प्रक्रियाअनुसार अघि बढ्नेछ ।’ गुप्ताले साझाकुरालाई प्रतिक्रिया दिँदै २०४६ सालमा आफु नागरिकता लिएको र प्रक्रिया गलत नभएको दाबी गरेका छन् । उनले हालकै नागरिकता संलग्न गरेर मउवा संघको पाँचौं पटक निर्वाचनमा सहभागी हुँदा निवेदन दर्ता नहुने तर, छैठौं पटक निर्वाचनमा फरक प्रशंग उठानले आफुमाथि नियोजित प्रहार भएको बताए । ‘मैले नागरिकता नेपालको नियमानुसार लिएको हुँ ।’ उनले भने, ‘यसबारे प्रक्रिया गलत छैन । निवेदनमाथि अनुसन्धान हुनु स्वभाविक हो ।’

यसमा तपाइको मत

Your email address will not be published.


*