कोरोना संक्रमित चार जना बढे, चारै जना घटे
हेटौंडा-मकवानपुरमा सोमबार थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा ३६ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा चार जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमण पुष्टि हुने चारै जना हेटौंडा उपमहानगर–पालिकाबासी हुन् । जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १५ हजार ५ सय ८१ जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा ४ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने चारै जना हेटौंडा उपमहानगरपालिकाका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या १५ हजार ३ सय ७ जना पुगेका छन् ।
जिल्लामा हालसम्म संक्रमणका कारण १ सय ६७ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १९ जना, थाहा नगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा कुनै पनि व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छैन ।







