सार्वजनिक बसमा ४५ प्रतिशत भाडा छुट देऊ

अनेरास्ववियूको माग
साझाकुरा
२०७८ पुष २२, बिहीबार ११:५५

हेटौंडा-नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल  राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन  (अनेरास्ववियू) मकवानपुरले विद्यार्थीले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको छ ।
बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै अनेरास्ववियू मकवानपुरका अध्यक्ष विशाल पौडेलले जिल्लाका साझा बस र सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको बताए ।
उनले भने, ‘सार्वजनिक बसहरुले विद्यार्थीहरुलाई भाडा छुट नदिएको धेरै गुनासो आएसंगै हामीले विद्यार्थीले पाउनुपर्ने अधिकारको लागि सम्बन्धित निकायहरुलाई ध्यानार्षण गराउने र अटेर
गरे आन्दोलनमा उत्रने निचोड निकालेका छौंं ।’

उनले काठमाण्डौ उपत्यकामा भाडा छुट संस्थागत भएको बताउँदै मकवानपुरमा पनि संस्थागत गर्न आन्दोलनको तयारी गरेको बताए । उनले यसअघि पनि सार्वजनिक बसहरुले भाडा छुट नदिएको र अनेरास्ववियू मकवानपुरले आवाज उठाएपछि माग सम्बोधन भएको बताउँदै पछिल्लो समयमा यातायात व्यवसायीहरुले विभिन्न बहानामा भाडा छुट दिन नमानेको बताए । उनले भाडा छुटलाई संस्थागत गर्न पुनः आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए ।

अध्यक्ष पौडेलले भने, ‘हामीले यातायात व्यवसायीहरुलाई ध्यानावकर्षण गराईरहेका छौं र तर व्यवसायीहरुले अटेर गर्ने, अवहेलना गर्ने र विद्यार्थीलाई गलत व्यवहार गर्ने गरेको पाईएको छ । अब हामी प्रशासन,स्थानीय तह र सम्बन्धित निकायलाई पुनः ध्यानाकर्षण गर्छौ । माग सम्बोधन नभए कडा आन्दोलनमा उत्रन बाध्य हुन्छौं ।’ उनले राज्यबाट विद्यार्थीलाई प्राप्त उक्त अधिकारको प्रत्याभुत गराउन यातायात व्यवसायीहरुलाई अनुरोध गरे ।

पत्रकार सम्मेलनमा बोल्दै अनेरास्ववियू केन्द्रीय सचिवाल सदस्य एवम् मकवानपुर ईन्चार्ज किशन घिसिङले भाडा छुट काठमाडौं उपत्यकामा मात्रै संस्थागत हुन सकेको बताउँदै देशभर संस्थागत गर्न विभिन्न रचनाआत्मक आन्दोलनको कार्यक्रम गर्न केन्द्रीय कमिटीलाई ध्यानाकर्षण गर्ने बताए । उनले मकवानपुरको हकमा मनहरी, भीमफेदी, मकवानपुरगढी र हेटौंडा उपमहानगरपालिका भित्रका विद्यार्थीहरुले भाडा छुट नपाउँदा बढी मर्कामा पर्ने गरेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*