ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु
हेटौंडा-मकवानपुरको पूर्वी क्षेत्र बकैयामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार दिउँसो कान्तिलोकपथ अन्तर्गत बकैया–११ को सिमात पुल नजिक ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । ट्याक्टर सडकबाट करिब २ सय ५० मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता राजकुमार सापकोटाका अनुसार बकैया–११ ठिंगनबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परी ज्यान गुमाउने दुईजना मध्ये मृतक एकको साथबाट फेला परेको चालक अनुमतिपत्रको आधारमा कैलाली घर भए भएका आम्दाजी २८ बर्षीय मिन बहादुर बुढा मगर रहेको प्रहरी प्रवक्ता प्रनि सापकोटाले बताए । मृत्यु भएका अर्का एकजनाको पहिचान खुल्न सकेको छैन । घाइते दुई जनालाई उद्धार गरी उपचारको लागि हेटौंडा अस्पताल ल्याउने क्रममा मृत्यु भएको इन्स्पेक्टर सापकोटाले बताए ।







