आगलागीपछि दुई वर्षमा कैलाशले तयार पा¥यो पक्की भवन
हेटौंडा-मकवानपुरको बिकट कैलाश गाउँपालिकाले आगलागी भएको प्रशासनिक भवन दुई वर्षमा पक्की रुपमा निर्माण गरेको छ । दुई वर्षअघि कैलाश–३ कालिकाटारमा कैलाशको कच्ची भवन आगलागीबाट ध्वस्त भएको थियो । कैलाशले दुई वर्ष अवधिमा २६ कोठे प्रशासनिक भवन निर्माण गरेको हो । २६ कोठे नवनिर्मित प्रशासनिय भवनको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । भवन निर्माणका लागि जिल्ला समन्वय समितिबाट २ करोड बजेट उपलब्ध गराइएको थियो । लागत अनुमान ३ करोड ९७ लाख १४ हजार ९ सय ९० रुपैयाँ ९८ पैसा भएपनि सार्वजनिक खरिद ऐन बमोजिक ठेक्का लगाउँदा ३ करोड १८ लाख ५३ हजार ९२५ रुपैयाँ ११ पैसामा २०७७ असार ७ गते गाउँपालिकाले निर्माण कम्पनी रविन÷अविसा जेभीसँग २०७८ पुष ७ गते सम्पन्न गर्ने गरी सम्झैता गरेको थियो । निर्माण कम्पनीले समयावधि भित्रै भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन गरिएको हो ।
भवन उद्घाटन गर्दै प्रमुख खुलालले भवन अभावमा विभिन्न समस्या खेप्दै आएको गाउँपालिकाले अब सेवा प्रवाहलाई चुस्त बनाउनु पर्ने बताए । उनले जिल्ला समन्वय समितिले स्थानीय तहको उन्नति, प्रगति र प्रभावकारी सेवा प्रवाहलाई आफ्नो उपलब्धीका रुपमा लिएको भन्दै कैलाश गाउँपालिकाले जिल्ला समन्वय समितिबाट प्राप्त बजेटको उचित उपयोग गरेकोमा धन्यवाद व्यवक्त गरे । उनले स्थानीय तहहरुलाई अधिकार सम्पन्न र विकासमा अगाडी राख्न जिल्ला समन्वय समतिले हरेक क्षेत्रमा समन्वय र सहकार्य गर्दै आएको र आगामी दिनमा समेत त्यसको निरन्तरता रहने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले समयमै निर्माण सम्पन्न गर्ने निर्माण कम्पनी, जग्गादाता लगायत निर्माण प्रक्रियामा सहयोग पु¥याउने सम्पूर्णमा धन्यवाद व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीले बिकट ठाउँमा स्थानीय सरकार संचालनमा समस्या भइरहेको बेला कैलाश गाउँपालिकाकोले भवन निर्माण गरेर राम्रो उपलब्धी हासिल गरेको बताइन् । कार्यक्रममा गाउँपालिकाकी कार्यबाहक अध्यक्ष सुकुमाया थिङले पालिकाको विकासमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आफुले जनतालाई सधै उत्साहित बनाउने काम गरेको बताइन् । उनले स्थानीय जनताले स्थानीय तहबाट उत्कृष्ट सेवा सुविधा पाउनु पर्छ भन्ने विश्वासका साथ काम गरेको उल्लेख गरिन् । भवनमा सामान्य केहि काम गर्न बाँकी
रहेको र त्यो छिट्टै सम्पन्न हुने प्रमुख प्रशासकिय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । उनले जिल्ला समन्वय समितिको सहयोगले मात्र भवन निर्माण गर्न सकेके जिकिर गर्दै जिल्ला समन्वय समितिलाई विषेश धन्यवाद दिए ।
कार्यक्रममा गाउँपालिका भवन र १० शैयाको अस्पताल निर्माणका लागि करीब १६ रोपनी जग्गा दाताहरुलाई सम्मानसमेत गरिएको थियो । गाउँपालिका भवन र अस्पताल निर्माणका लागि स्थानीय रामलाल घलान, गोबिन्द पाठक, सुर्यबहादुर तितुङ, दुर्गा बहादुर स्याङ्तान, सन्चबहादुर स्याङ्तान, सुकुबहादुर स्याङ्तान, सिंगराम घलान र राम बहादुर स्याङ्तानले जग्गा प्रदान गरेका थिए ।
गाउँपलिकाकी कार्यबाहक अध्यक्ष थिङको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, पालिकाका कर्मचारीलगायतको सहभागिता थियो ।







