फेरि रोकियो ७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली

हेटौंडा-बागमती प्रदेशमा तेस्रोपटक ७० अंक ल्याए सवारी चालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन रोकिएको छ ।
बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयको हष्तक्षेपको कारण बुधबारबाट लागू हुन लागेको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको हो । यसअघि असोज र मंसिरमा यो प्रणाली कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयले रोक लगाएको थियो । मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न निर्देशन दिएको छ । ४ सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको छ ।
प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो । मुख्यमन्त्री पाण्डेको हष्तक्षेपको कारण दुईपटक रोकिएको यो प्रणाली बुधबारबाट लागू गर्ने तयारी गरिएको थियो । तर, फेरि एकपटक मुख्यमन्त्री कार्यालयको हष्तक्षेपले उक्त प्रणाली कार्यान्वयन रोकिएको छ । बागमती प्रदेशको काम चलाउ सरकारको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरु बुधबारबाट ७० प्रतिशत प्रणाली लागू गर्न सहमत भएकोमा मुख्यमन्त्री कार्यालयको हष्तक्षेपको कारण लागू हुँदा हुँदै फेरि रोकिएको बताए ।
उनले बुधबारबाट लागू हुने तयारीमा रहेको ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली कार्यान्वयन नगर्न मुख्यमन्त्री कार्यालयले यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको बताए । यसअघि असोज २ गते र मंसिर १८ गतेबाट उक्त प्रणाली लागू गर्ने भनिएपछि मुख्यमन्त्री पाण्डेकै निर्देशनमा
रोकिएको थियो । नेपालको ४ वटा प्रदेशमा लागू भइसकेको प्रणाली बागमतीमा मात्रै पटक–पटक हष्तक्षेप गरेर पाण्डेले रोकेको उनको आरोप छ ।
प्रणाली लागू गर्ने विषयमा निवर्तमान मुख्यमन्त्री पाण्डे र प्रदेशमन्त्री दाहालबीच मनमुटाव समेत भएको थियो ।
यातायातका कर्मचारीले पोखरालगायत स्थानमा सञ्चालित ट्रायल सेन्टरहरुमा सञ्चालन भएको परीक्षाका सम्बन्धमा अनुगमनसमेत गरेको थियो । यातायात कार्यालय र कर्मचारीले आफूहरु ७० अंक प्रणाली लागू गर्न तयार रहेको बताए पनि मुख्यमन्त्री कार्यालय नै बाधक बनेको स्रोतको दाबी छ ।
मन्त्री दाहालले मुख्यमन्त्री सँगको सल्लाहमा नै सुरुवातमा उक्त प्रणाली कार्यान्वयन गर्न खोजिएको भन्दै सो बेलामा हुन्छ भनेर सहमति दिएका पाण्डेले अहिले किन पटक–पटक लागू नगर्न निर्देशन दिए भन्नेबारे आफूले नबुझेको बताए । उनको अनुसार यातायात व्यवस्था विभागले २०७८ सालमै उक्त कार्यविधि तयार पारेर प्रदेशलाई पठाए पनि लागू गरिएको थिएन । यो प्रणाली लागू भएमा प्रयोगात्मक परीक्षमा सहभागी हुनेले सामान्य गल्ती गरेमा अनुत्तीर्ण हुने समस्या हल हुने मन्त्री दाहालको दावी छ ।
७ मध्ये प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा यो प्रणाली लागू भइसकेको छ । मुख्यमन्त्री कार्यालयले गत असोजदेखि कुनै न कुनै बहानामा प्रणाली लागू गर्न ढिलाई गर्दै आएको छ । यातायात व्यवस्था विभागले भने प्रदेश सरकारले अग्रसरता लिएर लागू गर्न खोजे यो नियम लागू हुने बताउँदै आएको छ । मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले भने भौतिक पूर्वाधार र जनशक्तिको अभाव रहेकाले त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन गर्न खोजेको बताए । लाइसेन्स दिने विषय संवेदनशील भएकाले यो प्रणालीका विषयमा थप अध्ययन जरुर देखिएको उनको भनाई छ । प्रणालीका विषयमा राष्ट्रिय सतर्कता केन्द्रले पटक–पटक पत्राचार गरेर लागू नगर्नुको कारण माग गरेको छ ।
मापदण्ड लागू भएमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १ सय तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछन् । प्रदेश सरकारले तयार पारेको निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ । दुईपटकसम्म अंकित रेखा छोएमा प्रत्येकपटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन ।
दुईपटकभन्दा बढी उक्त रेखा छोएमा, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गएमा, एकपटक भन्दा धेरैपटक खुट्टाले भुईं टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण भएको घोषणा गरिने व्यवस्था गरिएको छ । साँघुरो फलेकको अंकभार १० तोकिएको छ । साँघुरो फलेकमा खुट्टाले भुईंमा टेकेमा, फलेकको लम्बाइ पार गर्नुअगावै फलेकबाहिर निस्के पनि अनुत्तीर्ण हुनेछन् । निर्देशिकामा युटर्नको अंकभार १० तोकिएको छ ।
टर्निङ लाइट नबालेको खण्डमा १० अंक घटाइनेछ । त्यस्तो अवस्थामा पनि अंकित रेखा छोए भने अनुत्तीर्ण हुनेछन् । ट्राफिक संकेतका लागि १५ अंकभार तोकिएको छ । ट्राफिक संकेत पालना नगरेको खण्डमा १५ अंक घटाइनेछ । निर्देशिकामा उबडखाबडको अंकभर १५ तोकिएको छ । एकपटकसम्म सवारीको स्टार्ट बन्द भएको खण्डमा ५ अंकभार घटाइनेछ । एकपटकभन्दा बढी स्टार्ट बन्द भयो भने प्रयोगात्मक परीक्षा दिने अनुत्तीर्ण हुनेछन् । त्यसैगरी उकालो (¥याप) को अंकभार २० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।
कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको कुल अंकभार १ सय तोकिएको छ । जसमा ७० प्रतिशत ल्याएको खण्डमा प्रशिक्षार्थी उत्तीर्ण भएको मानिनेछ । निर्देशिकाअनुसार कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षामा घुमाउरो आठ (एट) को अंकभार २० तोकिएको छ। दुईपटकसम्म अंकित रेखा छोए प्रत्येक पटक ५ अंकको दरले १० अंकभार घट्नेछ तर ट्रायल फेल भइँदैन । दुईपटकभन्दा बढी अंकित रेखा छोए, सवारीको टायर अंकित रेखाभन्दा बाहिर गए, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएकोमा वा सवारीको स्टार्ट बन्द भएको अवस्थामा भने अनुत्तीर्ण हुने व्यवस्था गरिएको छ ।
निर्देशिकामा ट्राफिक संकेतको अंकभार १५ तोकिएको छ । पालना नगरे १५ अंक घट्ने प्रावधान राखिएको छ । त्यसैगरी युटर्नको अंकभार १० तोकिएको छ । टर्निङ इन्डिकेटर लाइट नबालेको खण्डमा १० अंकभार घटाइनेछ । अंकित रेखा छोएको खण्डमा भने प्रशिक्षार्थी अनुत्तीर्ण हुनेछन् । चारपांग्रे सवारी चालकलाई ¥याम (उकालो) का लागि अंकभार १५ तोकिएको छ ।
तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी अगाडि बढेमा, रोकिएको अवस्थामा सवारीसाधन अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको सीमा नाघी सवारी रोकेमा वा एकपटकभन्दा धेरै सवारी स्टार्ट बन्द भएमा अनुत्तीर्ण हुनेछ । ग्यारेज पार्किङको अंकभार १० तोकिएको छ । त्यसैगरी परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनलाई १० अंकभार तोकिएको छ ।