‘राजनीतिकरुपले पनि निर्माण व्यवसायी एकजुट हुनुपर्ने बेला आयो’

साझाकुरा
२०८२ बैशाख २८, आईतवार १०:११

हेटौंडा-निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद ऐन छिटो संशोधन गर्न सरकारसँग माग गरेका छन् ।सरकारले ऐनलाई सदनमा व्यापकरुपले छलफल गराएर संशोधन गर्नुपर्ने उनले बताए । निर्माण व्यवसायी संघ मकवानपुरको २५ औं वार्षिक साधारणसभाको अवसरमा शनिबार हेटौंडामा आयोजित कार्यक्रममा अध्यक्ष सिंहले निर्माण कार्य चलायमान हुने गरी सार्वजनिक खरिद ऐन र त्यससँग सम्बिन्धत ऐनहरुलाई संशोधन गर्नुपर्ने धारणा राखे । वन ऐन, स्थानीय ऐन लगायत कतिपय ऐनहरुको कारण विकास निर्माणको कार्यमा अवरोध आइरहेको उनले बताए । अध्यक्ष सिंहले पूर्वाधारमैत्री ऐनहरु नहुँदा विश्वमै सफल भएका निर्माण व्यवसायी नेपालमा असफल हुने
गरेको जिकिर गरे ।

‘अनुदान र ऋणमा आएका आयोजनाहरु समेत समयमै सम्पन्न हुन सक्ने अवस्था नरहेको उनको भनाई छ । अध्यक्ष सिंहले ऐन कानुनकै कारण नेपाली सेनाले जिम्मा लिएका कामहरु समेत पूरा हुन नसकेको बताए । अध्यक्ष सिंहले राजनीतिकरुपले पनि निर्माण व्यवसायीहरु एकजुट हुनुपर्ने बेला आएको बताए । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निर्माण व्यवसायीलाई सम्बोधन गर्ने विषयलाई कार्यान्वयन गर्न एकजुट हुनुपर्ने उनको भनाई छ ।

अध्यक्ष सिंहले महासंघमा विभिन्न राजनीतिक विचारधारा राख्ने भएपनि समग्र निर्माण उद्योगको हितमा काम गर्नुपर्ने उल्लेख गरे । आलोचनालाई शक्तिमा परिणत गरेर नेतृत्वले काम गर्नुपर्ने उनको भनाई छ । अध्यक्ष सिंहले निर्माण व्यवसायको क्षेत्रमा मकवानपुरको नेतृत्वले उत्कृष्टताको नमुना प्रस्तुत गरेको दाबी गरेका छन् । मकवानपुरले महासंघको केन्द्रीय साधारणसभालाई सफलतापूर्वक सम्पन्न गराएर लिएको लक्ष्य पनि हासिल गर्न सफल भएको उनको भनाई छ ।

सरकारबाटै अस्वाभाविक मूल्यबृद्धि गर्ने उद्योगीकै पक्षपोषण गर्ने काम भयोः अध्यक्ष कँडेलसाधारणसभा मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले आर्थिकमन्दीको मारमा अन्य क्षेत्रमा जस्तै निर्माण व्यवसायक्षेत्रमा प्रत्यक्ष असर परेको बताएका छन् । पछिल्लो समय सिमेन्ट, डण्डी लगायत सामग्रीका अभाव सिर्जना गरी उद्योगीले कार्टेलिङ गर्दा निर्माण व्यवसायी मार परेको उनले बताए ।सरकारले यस किसिमको समस्या समाधान भन्दा पनि अस्वाभाविक मूल्यबृद्धि गर्ने उद्योगीहरुकै पक्षपोषण गर्ने गरेको उनले जिकिर गरे । निर्माण उद्योगमेत्री वातावरणको अभावमा व्यवसायीहरु आर्थिकरुपमा धराशायी हुँदै गएको उनले बताए ।

निर्माण व्यवसायीले निर्माणकार्य गरेबापतको भुक्तानी, सार्वजनिक खरिद ऐन, नियमावलीमा समयानुकुल संशोधन, लो बिडिङ, आर्थिक वर्षको अन्त्यमा टेण्डर आह्वान गर्ने लगायत समस्या समाधान गर्न अध्यक्ष कँडेल माग गरे ।अध्यक्ष कँडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य भारती पाठक, प्रेमबहादुर पुलामी, महासंघका सल्लाहकार निकोलस पाण्डे, वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा, उपाध्यक्ष रामजी पन्त, महासचिव रोशन दाहाल, महासंघका बागमती प्रदेश अध्यक्ष छत्रबहादुर तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, हेटौंडा उपमहानगरप्रवक्ता सविन न्यौपाने, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*