अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु

साझाकुरा
२०८२ बैशाख २८, आईतवार १०:१९

हेटौंडा- मकवानपुर बहुमुखी क्याम्पसद्वारा आयोजित दिगो विकासको लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास विषयक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि हेटौंडामा सुरु भएको छ । शनिबार हेटौंडामा त्रिभुवन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा. देवराज अधिकारीले सम्मेलनको उद्घाटन गरेका हुन् । तीन दिनसम्म चल्ने सम्मेलनमा जापान, भारत, मलेशिया, थाइल्यान्डका अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तूत गर्नेछन् ।

कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समूहगत रुपमा प्रस्तुत हुनेछ । स्थानीयस्तरमा दिगो विकास लक्ष्यलाई समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र स्थानीयस्तरका दिगो विकास लक्ष्य प्राप्तिमा युवाको भूमिका बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले बताएका छन् ।

त्यसैगरी विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष अधिकारीले सामुदायिक क्याम्पसले अन्तर्राष्ट्रियस्तरको सम्मेलन गर्नु प्रशंसनीय कार्य भएको बताए । पछिल्लो समय विश्वविद्यालय तहको शिक्षामा विद्यार्थीको संख्या घट्दो क्रममा रहनु चिन्ताजनक विषय भएको उनको भनाई छ । देशभरका सामुदायिक क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले सहयोग गर्दै आएको उनले बताए । विश्वविद्यालय तहकोशिक्षा हासिल गर्ने विद्यार्थीलाई उनीहरुको सफल भविष्यको सुनिश्चित हुने गरी शिक्षा प्रदान गर्नुपर्नेमा उनको जोड थियो ।

सम्मेलनमा गुणस्तरीय शिक्षासम्बन्धी प्यानल छलफल, अनुसन्धानात्मक जर्नल प्रकाशन र सांस्कृतिक कार्यक्रम आयोजना हुनेछ । आइतबार र सोमबारको दुईदिने कार्यक्रम क्याम्पस परिसरमै हुनेछ । यसअघि राष्ट्रियस्तरको शैक्षिक सम्मेलन गरिसकेको क्याम्पसले युजिसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकार एवम् स्वदेशी तथा विदेशी विश्वविद्यालयसँगको सहकार्यमा विश्वविद्यालय बन्ने यात्रामा अगाडि बढिरहेको छ ।

सम्मेलन आगामी सोमबारसम्म जारी रहनेछ । सम्मेलनको उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा, मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष अनन्त पौडेल, पूर्वअध्यक्षहरु डोरमणि पौडेल र माइकल रामचन्द्र अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*