मोवाइल व्यवसायीको सहजीकरण प्रदेश सरकारले गर्छः मन्त्री काफ्ले
हेटौंडा-बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मोवाइल व्यवसायीको सहजीकरणको लागि प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
नेपाल मोवाइल व्यवसायी महासंघको शनिबार हेटौंडामा भएको चौथो साधारणसभामा मन्त्री काफ्लेले व्यवसाय सञ्चालनका क्रममा आउने प्रशासनिक झमेलामा सहजीकरण गर्ने र व्यवसायीका समस्या तथा एजेन्डालाई सम्बन्धित निकायमा पु¥याउने प्रतिबद्धता व्यक्त गरे । उनले मोवाइल व्यवसायीहरु राष्ट्रको समग्र आर्थिकचक्रमा जोडिने महत्वपूर्ण क्षेत्र भएकाले व्यवसायीले उठाएका एजेन्डालाई सरकारले प्राथमिकतामा राख्ने बताए । उनले भन्सारछलीमार्फत भित्रिएका मोवाइललाई सरकारले कडाइ गर्दा राज्यको कोष बढ्ने भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
मन्त्री काफ्लेले मोवाइलको सेकेन्ड ह्यान्ड कारोबारलाई पनि व्यवस्थित बनाउनु पर्ने बताए । ‘कतिपय देशमा सेकेन्ड ह्यान्ड फोनको कारोबारलाई सरकारले राज्यकोषमा निश्चित
रकम जम्मा हुने गरेर कारोबार गर्न मिल्ने बनाएको छ, नेपालमा अहिले अवैधरुपमा सेकेन्ड ह्यान्ड फोनको कारोबार भैरहेको छ, यसलाई कानुनी दायरामा ल्याएर राज्यकोषमा निश्चित रकम आउने गरेर व्यवस्थित गर्दा राज्यको हितमा हुन्छ,’ काफ्लेले थपे ।
उनले व्यवसायीलाई दक्ष बनाउन बागमती प्रदेश सरकारकातर्फबाट आवश्यक बजेट उपलब्ध गराउन आफू तयार रहेको बताउँदै देशमा नै रोजगारी सृजना गर्ने अवस्थाको नेतृत्व गर्न महासंघलाई आग्रह गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सूचनाप्रविधिको क्षेत्रमा मोवाइल व्यवसायले महत्वपूर्ण योगदान दिएको बताइन् ।
कार्यक्रममा मोवाइल फोन इम्पोर्टर एसोसिएसन अफ नेपाल संघका अध्यक्ष दीपक मल्होत्राले मोवाइल व्यवसायलाई व्यवस्थित गर्न सरकारले एमडीएमएस प्राणाली लागू गर्नैपर्ने बताए । यो व्यवस्था लागू गर्न नसके सरकारले अन्य विकल्प पनि निकाल्नु पर्ने स्पष्ट पारे । उनले मुलुकको राजश्वमा नौ अर्वअतिरिक्त राजश्व बुझाइरहेको मोवाइल व्यवसायलाई सरकारले लामो समयदेखि वेवास्था गर्दै आएकोमा दुखेसो व्यक्त गरे ।
महासंघका अध्यक्ष भरत भट्टराईले मोवाइल व्यवसायलाई कानुनी रुपमा व्यवस्थित नगर्दासम्म व्यवसायीले राज्य पक्षबाट हैरानी खेप्नु पर्ने अवस्थाको अन्त्य नहुने बताए । उनले सरकारका विभिन्न तहमा मोवाइल व्यवसायका समस्याको जानकारी गराउँदासमेत वेवास्थाभैरहेको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामा, बागमती प्रदेश उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष कबिराज खत्री, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल मोवाइल वितरक संघका अध्यक्ष रघु त्रिपाठी, नेपाल हिमालय सिमापार वाणिज्य संघका केन्द्रीय सदस्य बिष्णु न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साधरणसभामा ६० जिल्लाका १ हजार भन्दा बढी प्रतिनिधिको उपस्थिति रहेको थियो । साधारणसभा मोवाइल व्यवसायसँग सम्बन्धित कानुनी चुनौती, समाधानका उपाय, बजारमा देखिएको अस्वाभाविक प्रतिस्पर्धा, तथा प्रविधिमा आधारित व्यवसायिक अवसर र चुनौतीका विषयमा केन्द्रीकृत रहेको थियो ।







