परिवारका ससुरादेखि ज्वाईसम्म पाँचै जना दोषी ठहर

सुस्मिता हत्या प्रकरणः
साझाकुरा
२०७९ पुष २२, शुक्रबार १०:०३

हेटौँडा-जिल्ला अदालत मकवानपुरले चार दिनसम्मको निरन्तर बहसपछि हेटौँडाकी सुस्मिता केसी (थापा) हत्या प्रकरणका पाँच जना आरोपितमाथि कसुरदार ठहरको फैसला सुनाएको छ । सुस्मिताको हत्यामा संलग्न भएको आरोपमा ससुरा, सासू, दुई नन्द र ज्वाइँलाई अदालतले कसुरदार ठहर गरेको हो । मुख्य अभियुक्तका रूपमा ससुरा र कान्छी नन्द सीता थापालाई जन्मकैद सजायको माग गरिएको छ ।

दुर्गा र अरुण कार्कीलाई आपराधिक षड्यन्त्र गरेको अभियोगमा जन्मकैदको माग गरिएको छ । यसैगरी, मृतक सुस्मिताकी सासु तुलसा कुमारी थापालाई मतियारको भूमिका निर्वाह गरेकाले मुख्य अभियुक्तले पाउने सजायको आधा सजाय माग दाबी गरिएको अधिवक्ता बालकृष्ण अधिकारीले जानकारी दिए ।

कपिलवस्तुको बाणगंगा नगरपालिका माइती भएकी २२ वर्षीया सुस्मिताको हेटौँडा उपमहानगरपालिका–४, स्थित घरमा २०७७ असार १ गते राति करिब १० बजेको समयमा हत्या भएको थियो । घरको भान्सा कोठाभित्र २ असार बिहान सुस्मिता टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको ३० दिनपछि हत्यामा संलग्न भएको आरोपमा ससुरा प्रकाश थापा, सासू तुलसाकुमारी थापा, जेठी नन्द दुर्गा थापा कार्की र कान्छी नन्द सीता थापालाई सार्वजनिक गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले सुस्मिता हत्याको आरोपमा ससुरा, सासूसहित नन्दहरू र घटनाको योजनाकारको रूपमा ज्वाइँ अरुण कार्कीविरुद्ध जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो ।

अभियोगपत्रमा घटनाको मतियारका रूपमा सासू तुलसालाई १२ वर्ष जेल सजाय तथा जेठी नन्द दुर्गा र उनका श्रीमान् अरुण कार्कीलाई हत्याको षड्यन्त्र बनाएको दाबीसहित २५ वर्ष कैद माग
गरिएको थियो । फरार रहेका कार्की पछि अदालतमा हाजिर भएका थिए । घरको भान्सा कोठामा ससुरा प्रकाश र नन्द सीताले सुस्मितामाथि काठको लौरो र मसला पिस्ने लोहोरोले हानेर बीभत्स हत्या गरेको मकवानपुर
प्रहरीको दाबी थियो ।
जिल्ला अदालतमा वादी प्रतिवादी पक्षका कानुन व्यवसायीले ४ दिनसम्म बहस गरेका थिए । जिल्ला न्यायाधीश श्री प्रसाद सञ्जेलको इजलासले बिहीबार आरोपित पाँचै जनालाई कसुरदार ठहर गर्दै सजाय निर्धारणका लागि एक महिनाभित्रै पेस गर्ने फैसला गरेको हो ।
आरोपित सबै पुर्पक्षका लागि हाल कारागारमै रहेका
छन् । पीडित पक्षका तर्फबाट जिल्ला न्यायाधिवक्ता मुकुन्दहरि पौडेल, सहन्यायाधिवक्ता राजेन्द्र पौडेल, अधिवक्ताहरू मदन दाहाल, बालकृष्ण अधिकारी, मनप्रसाद
भट्टराई, अप्सरा बस्नेतलगायतले बहस गरेका थिए ।
सुस्मिताले हेटौँडाका रुपेन्द्र थापासँग विवाह गरेकी थिइन् । रुपेन्द्रको ससुरालीबाट हेटौँडा फर्किंदै गर्दा नवलपारीको दाउन्नेमा विवाह गरेको ६ महिनापछि मोटरसाइकल दुर्घटनामा परेर मृत्यु भएको थियो । उनको मृत्युपछि सुस्मिताकै कारण आफ्नो छोरोले ज्यान गुमाएको भन्दै घर पक्षले मानसिक तनाव दिँदै आएका थिए । घटना मृतक थापाको बीमा दाबी गरेपछि प्राप्त पैसाको निहुँमा भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*