पूर्वमजदुरले मुख्यमन्त्री सम्हालेकै दिन हेटौंडामा पोखिए मजदुरका दुःख

हेटौंडा- बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेकै दिन हेटौंडामा मजदुरहरुका विषयमा छलफल कार्यक्रम भयो ।पूर्वमजदुर मुख्यमन्त्री बनेको दिन हेटौंडामा मजदुरहरुका विषयमाथि छलफल चल्नु एउटा संयोग मात्रै थियो । मंगलबार बिहान जम्मकट्टेलले मुख्यमन्त्रीमा पद तथा गोपनीयताको सपथ लिएको केही समयपछि हेटौंडाकै एक होटलमा प्रादेशिक रुपमा औद्योगिक कोरिडोरमा श्रमिक शिक्षा सम्बन्धी त्रीपक्षीय अन्तक्रिया भएको हो । अन्तक्रियामा मजदुरहरुका दुःख धेरै पोखिए । हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुले मजदुरमाथि गरेको दमन बाहिरिएको थियो । मजदुरका दुःख पोखिएकै दिन मुख्यमन्त्रीमा पदभार ग्रहण गर्दै जम्मकट्टेलले आफ्नो कार्यकालमा सुशासन मूल मन्त्र हुने बताएका थिए ।
जम्मकट्टेल मजदुरबाट उठ्दै मुख्यमन्त्रीसम्म भएका हुन् । उनी २०४७ सालमा ललितपुरको काभ्रे आइरन उद्योगमा मजदुरका रुपमा काम गर्थे । सोही समयबाट उनी मजदुर संगठनमा संगठित भएका हुन् । जम्मकट्टेल २०४८ सालमा औद्योगिक मजदुर संगठनको ललितपुर जिल्ला कमिटी सदस्यसहित केन्द्रीय कोषाध्यक्षसम्म बनेका थिए । माओवादी सशस्त्र विद्रोह सुरु भएपछि उनी निरन्तर पार्टीमा क्रियाशील रहे । २०६० सालबाट एक दशकभन्दा बढी समय माओवादी केन्द्र निकट अखिल नेपाल ट्रेड युनियन महासंघको अध्यक्ष बनेका जम्कट्टेलले २०६३ सालमा अन्तरिम विधायकका रुपमा संसदीय यात्राको सुरुवात गरेका थिए ।
मजदुरको क्षेत्रमा लागू भएको सामाजिक सुरक्षा, श्रम ऐन र न्यूनतम वेतन लागू हुनुमा उनीसहितका मजदुरहरुको भूमिका छ । उनकै आन्दोलनबाट प्राप्त सामाजिक सुरक्षा, श्रम ऐन र न्यूनतम पारिश्रमिकसमेत नपाएको गुनासो हेटौंडा आद्याोगिक क्षेत्रका मजदुरहरुले गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग काठमाडौंको आयोजना र श्रम तथा रोजगार कार्यालय मकवानपुरको संयोजनमा प्रादेशिक रुपमा औद्योगिक कोरिडोरमा श्रमिक शिक्षा सम्बन्धी अन्र्तक्रियामा औद्योगिक क्षेत्रका मजदुरहरुले तलबसमेत नपाएको र उद्योगबाट यातना भोगेकोसम्मको दुःख पोखेका छन् । सरकारी निकायले श्रम ऐनमा भएका व्यवस्था बारे जानकारी गराइरहँदा मजदुरहरुको भनाईले भने ऐन कार्यान्वयन नै नभएको देखाएको छ ।
हेटौंडा औद्योगिक क्षेत्रभित्र रहेको सिदार्थ फ्रेबिक उद्योगमा कार्यरत् सुशिल पोख्रेलले उद्योगले नियुक्ती पत्रसमेत नदिएको गुनासो गरे । उनका अनुसार मजदुरहरुले तलब समयमै नपाएको बताए । ‘नियुक्ती पत्र पनि दिइएको छैन् । तलब पनि समयमै पाइदैन् । न्यूनतम पारिश्रमिक पनि छैन्,’ पोख्रेलले सुनाए । उनले आफ्नो र यहाँ कार्यरत् मजदुरहरुको तलब कति हो भनेर अहिलेसम्म थाहा नपाएको दुःखेसो गरे । उद्योगले कुनै महिना १७ हजार दिएको र कुनै महिना ६ हजार पनि दिएको पोख्रेल बताउँछन् । पोख्रेलले तलब नपाएको विषय मात्रै उठाएनन, तलब माग्दा उद्योगको आधिकारिक व्यक्तिबाट ‘पैसा चाहिए घर जा, घर नचाहिए काम गर’ भन्ने जवाफ दिने गरेको बताए ।
औद्योगिक क्षेत्रकै आरएमसी केमिकलमा कार्यरत् विष्णु क्षेत्रीले उद्योगले बिदा लिई भनेर बिदा पनि दिने गरेको र कारबाही पनि गर्ने गरेको गुनासो गरे । उद्योगले सम्झौता पत्रसमेत नदिएको क्षेत्रीले बताए । मजदुरहरुलाई कहाँ उजुरी गर्ने भनेर थाहासमेत नभएको उनको भनाई छ । उनले श्रमिकको रोजगारीको टुंगो नभएको र उद्योगले सामाजिक सुरक्षमा समेत सहभागी नगराएको बताए । आरएमसी केमिकलले केही समयअघि एक मजदुरलाई शौचालयमै थुनेर मानसिक यातना दिएको विषय श्रम तथा रोजगार कार्यालयसम्म पुगेको थियो । गोर्खा लहारीमा कार्यरत् राष्ट्रिय प्रजातान्त्रिक टे«ड युनियनका केन्द्रीय सदस्यसमेत रहेका दिनेश लामाले उद्योगहरुमा ठेकदारी प्रथाको अन्त्य हुनुपर्ने
धारणा राखे । ठेकदारी प्रथाको अन्त्य नभएसम्म मजदुरहरुको भविष्य नभएको उनको भनाई छ । लामाले श्रम ऐनको कुनै काम नभएको भन्दै रोष प्रकट गरे । मजदुरको कुरा कसैले नसुनेको उनको गुनासो छ । मजदुरहरुलाई एउटा सानो कमजोरीमा पनि निलम्बन गर्ने र कामबाटै निकाल्ने भएको उनले जनाए । मजदुरमाथि दमन गर्ने उद्योगहरुलाई कुनै कारबाही हुन नसकेको उनले बताए । कार्यक्रममा आद्योगिक क्षेत्रभित्रका संगठित मजदुरले मात्र नभई अनौपचारिक क्षेत्रका मजदुरहरुले पनि गुनासो राखेका छन् । सरकारले संगठित मजदुरहरुलाई मात्रै महत्व दिएको तर, असंगठित मजदुरहरुलाई भने चासो नदिएको गुनासो आएको छ । अनौपचारिक श्रम क्षेत्रमा कार्यरत् राजु आचार्यले मजदुरहरुको हकअधिकार पाउन नसकेको सुनाए ।
मजदुरका लागि काम गर्ने भनिएका संगठनहरु सक्रिय हुन नसक्दा श्रमिकहरुलाई थप समस्या बनाएको आचार्यको भनाई थियो । अनौपचारिक श्रम क्षेत्रमा कार्यरत् बुद्धबहादुर विश्वकर्माले अनौपचारिक श्रमिकहरुले पैसासमेत पाउन नसकेको बताए । अनौपचारिक क्षेत्रका श्रमिकहरुको स्वास्थ्यमा समस्या भएमा उपचारसमेत गर्न नसक्ने अवस्था रहेको विश्वकर्माले गुनासो गरे । कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । तर, उनी कार्यक्रममा पूरै समय नबसेकाले मजदुरका गुनासो सुन्न पाएनन् । पाण्डेलाई मजदुरहरुले खोजी गरेका थिए ।
मजदुरहरुको गुनासो सुनेपछि श्रम तथा रोजगार कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले कुनै समस्या भए कार्यालयमा जानकारी गराउन आग्रह गरे । कमजदुरहरुलाई कार्यालयमा आएर वा वेभसाइटबाट उजुरी गर्न सुझाउँदै श्रेष्ठले कार्यालयबाट तत्काल एक्सन लिइने विश्वास दिलाए । उनले कानुन कार्यान्वयनमा उद्योग र मजदुर दुवै पक्ष जिम्मेवार हुनुपर्ने बताए । अन्र्तक्रिया कार्यक्रममा प्रमुख श्रेष्ठले उचित श्रम अभ्यास र कार्यालयका सूचना अधिकारी सुदिप दाहालले कानुनी व्यवस्था बारे प्रस्तुती दिएका थिए । कार्यक्रममा विभागका कारखाना निरीक्षक बलराम कुशवाह लगायतको उपस्थिति रहेको थियो ।