सभामुख निर्वाचनको मनोनयन दर्ता आज

साझाकुरा
२०७९ पुष २८, बिहीबार १०:१८

हेटौंडा- बागमती प्रदेशसभा सभामुखको निर्वाचनका लागि आज विहीबार मनोनयन दर्ता हुँदैछ । पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि आज विहीबार मनोनयन दर्ता गर्ने निर्णय गरेको थियो । सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गतेदेखि नै सुरुवात गर्ने निर्णय गरेपनि त्यसलाई संशोधन गरेर एक दिन पछाडी सारिएको थियो ।

बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काले सभामुखको निर्वाचनका लागि विहीबार २ बजेसम्ममा मनोनयन दर्ता गराउनुपर्ने कार्यतालिका रहेको जानकारी दिए । सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुने सचिव खड्काले बताए । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यहरु मध्यबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ ।

साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम तालिका सार्वजनिक गरेको छ । सभामुखको निर्वाचन पुस २९ गते बिहान ११ बजे हुने सचिवालयले जनाएको छ ।प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठक उम्मेदवार बन्ने भएका छन् । बुधवार बसेको राप्रपा संसदीय दलको बैठकले महामन्त्री पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्तारुढ दलहरुबीच मुख्य पदहरू भागबण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भएको थियो ।
बागमती प्रदेशसभामा सभामुखको निर्वाचन विहीबार हुँदैछ ।

७ दलीय गठबन्धनको सत्ता भागबण्डामा बागमती प्रदेशको सभामुख राप्रपाको भागमा परेपछि राप्रपाका पाठक सभामुख बन्ने निश्चितप्रायः छ । सत्तारुढ गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्र र नेकपा एमालेलाई आलोपालो, सभामुख राप्रपा तथा उपसभामुख एमालेलाई भाग लगाएको थियो । एमालेले भने आज विहीबारमात्र दलको बैठक बसेर उपसभामुखका उम्मेदवार चयन गर्ने जनाएको छ । सभामुखमा राप्रपाले पुरुषलाई उम्मेदवार बनाउने भएपछि उपसभामुखमा एमालेले महिला सांसदलाई उम्मेदवार बनाउनुपर्ने संवैधानिक बाध्यता छ । संविधानअनुसार सभामुख र उपसभामुख एउटै दल र लि·को हुनुहँुदैन ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरणअनुसार बागमती प्रदेशमा ३ वटा घटक दलहरु छन्ः नेकपा एमाले, नेकपा माओवादी केन्द्र र
राप्रपा । तर, प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई केन्द्रको समीकरणभन्दा बाहिर रहेको नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि सर्मथन गरेको थियो । समाजवादी र हाम्रो नेपाली पार्टी पनि माओवादी नेतृत्वको प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ । त्यसैले सत्ता गठबन्धनको तर्फबाट सभामुख र उपसभामुखको उम्मेदवारले ५ दलको मत पाउने निश्चित देखिएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभामा एमालेसँग २७, माओवादीसँग २१, राप्रपासँग १३, समाजवादीसँग ७ र हाम्रो नेपाली पार्टीसँग २ मत छ । यी सबै मत जोड्दा ७० हुन्छ । जुन सभामुख र उपसभामुखमा निर्वाचित हुनको लागि पर्याप्त हुन्छ । यसअघि, बागमती प्रदेशसभाको पहिलो कार्यकालमा नेकपा एमालेबाट सानुकुमार श्रेष्ठ सभामुख बनेका थिए भने माओवादीकी राधिका तामाङ उपसभामुख थिइन् । प्रदेशसभाको दोस्रो कार्यकालको लागि भएको निर्वाचनमा पूर्वसभामुख पराजित भएका थिए भने उपसभामुख पुनःनिर्वाचित भएकी छन् । पूर्वसभामुख श्रेष्ठ

राप्रपाकै उम्मेदवारसँग पराजित भएका थिए । प्रदेश संरचना खारेजीको माग गर्दै आएको राप्रपाले यसपटक सभामुख पाउने सम्भावना देखिएको छ । सत्तारुढ गठबन्धनसँग बहुमत रहेको हुँदा सत्ता गठबन्धनको उम्मेदवार नै सभामुखमा निर्वाचित हुने देखिएको हो । प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशसभामा राप्रपाको समानुपातिकबाट दुईजना मात्रै सांसद् थिए । तर, दोस्रो कार्यकालमा १३ सिट जितेको राप्रपा पहिलोपटक सरकारमा पनि सहभागी भएको छ ।

सभामुख÷उसभामुखको निर्वाचनपछि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिने तयारी गरेका छन् । मुख्यमन्त्री जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन् । माघ ३ गते प्रदेशसभासमक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको छ । जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका थिए ।उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसद्को समर्थन छ । ११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीमात्रै प्रतिपक्षमा छ ।

मंगलबार माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको कांग्रेसले बागमती प्रदेश सरकारलाई समर्थन गर्न सक्ने सम्भावना देखिन्छ । बागमती प्रदेशमा पनि माओवादीकै नेतृत्वमा सरकार बनेको र प्रदेशमा पनि पछि सरकार बनाउने सम्भावना जीवितै राख्नको लागि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्ने कांग्रेसका एक सांसद्ले बताए । केन्द्रमा प्रधामन्त्रीलाई विश्वासको मत नदिएको नेमकिपाले भने प्रतिपक्षमा बस्ने स्पष्ट पारिसकेको छ ।

७० सांसद्को समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उनको समर्थनमा १०७ मत हुनेछ । मुख्यमन्त्री जम्मकट्टेलले कांग्रेस र नेमकिपासँग पनि विश्वासको मत माग्ने तयारी गरेको बताइएको छ । मुख्यमन्त्री जम्मकट्टेलले सभामुख÷उसभामुखको निर्वाचनपछि विश्वासको मत लिने र विश्वासको मत लिएपछि मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीसमेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*