मनहरीका पाँच विद्यालयले मागे कक्षा ‘अपग्रेड’
हेटौंडा- जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा रहेका पाँच वटा विद्यालय कक्षा तह वृद्धि ‘अपग्रेड’ माग गरेका छन् ।कक्षा अपग्रेड माग गर्नेमा गाउँपालिकाभित्र सञ्चालित तीन वटा निजी विद्यालय र दुई वटा सामुदायिक छन् । सामुदायिकतर्फ मनहरी वडा नम्बर ७ को राष्ट्रिय माध्यमिक विद्यालय, रमन्टार बिजौनाले कक्षा ९ को लागि अनुमति मागेको छ । वडा नम्बर १ को बालजीवन ज्योति माध्यमिक विद्यालयले कक्षा १२ को अनुमति माग गरी गाउँपालिकामा कागजपत्र पेश गरेको छ । मनहरी–६ स्थित रेड एन्जल एकेडेमीले कक्षा ८ को अनुमति माग गरेको छ ।
त्यसैगरी वडा नम्बर–१, स्थित नवीन मेमोरियल एकेडेमीले कक्षा ४ र ५ को अनुमति माग गरेको गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ । वडा नम्बर ७ मा अवस्थित बिलिभर्स इंग्लिस स्कूलले कक्षा ७ को अनुमति माग गरेको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले जानकारी दिए । मागबारे गाउँ शिक्षा समितिहुँदै कार्यपालिकामा पु¥याएर निर्णय हुने सापकोटाले बताए । विद्यालयको कक्षा अपग्रेडका लागि सरकारले तोकेको सर्तहरु पूरा भए÷नभएबारे अनुगमन तथा कागजपत्र अध्ययनपछि बैठकहरुमा पेश हुने उनको भनाइ छ । कक्षा अपग्रेड गर्न चाहने विद्यालयले हरेक वर्ष पुस मसान्तभित्र निवेदन पेश गर्नुपर्ने प्रावधान छ ।







