‘सडक र भवनलाई बजेट माग्छन, बालबालिकामा लगानी गर्न बजेट माग्दैनन्’
हेटौंडा-बागमती प्रदेशको सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक तथा भवनलगायतका पूर्वाधारमा बजेट माग्ने धेरै आएको तर, बालबालिकाको क्षेत्रमा लगानी गर्न कसैले बजेट नमागेको बताएकी छन् ।बालबालिमाथि लगानी गर्न बजेटको माग नै नहुने गरेको उनको भनाई छ । बाटो र भवन निर्माणको लागि मन्त्रालयमा बजेट माग्नेहरु प्रसस्तै आउने गरेको मन्त्री मोक्तानको भनाई छ । उनले सम्हालिरहेको मन्त्रालय पनि महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने निकाय हो । तर, आफूलाई बालबालिकामाथि लगानी गर्ने उद्देश्यले कसैले बजेट नमागेको बताएकी हुन् । उनको भनाईले ३ वटा गाउँपालिका बालमैत्री भइसकेको मकवानपुरमा अझै बालमैत्री
वातावरणको जग नबसेको पाइन्छ । जिल्लाको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री गाउँपालिका हो । मनहरीपछि मकवानपुरगढी र बकैया गाउँपालिका बालमैत्री घोषणा भइसकेका छन् ।
मकवानपुरमा हेटौंडा उपमहानगरपालिका, बकैया गाउँपालिका, थाहा नगरपालिका, कैलाश गाउँपालिका पनि बालमैत्री स्थानीय शासन अबलम्ब गर्ने स्थानीय तहको घोषणाको अभियानमा छन् । तर, मन्त्री मोक्तानको भनाईले बालमैत्री घोषणा घोषणामै सीमित भइरहेको र जनचेतनाका दृष्टिकोणले कम प्रभावकारी भएको देखिएको हो । ग्रामिण जागरण तथा विकास संगठन (राडो नेपाल)को सहजिकरणमा हेटौंडामा भएको बालमैत्री स्थानीय शासन स्थापना तथा दीगोपन विषय कार्यपत्र प्रस्तुति कार्यक्रममा मन्त्री मोक्तानले बालबालिको क्षेत्रमा पनि लगानी गरेर काम गर्नुपर्ने बताएकी हुन् ।
बालबालिकाको उच्च शिक्षा, ढिलो विवाह, बाल संरक्षणको सवालमा काम गर्न चासो दिनेहरु कमी भएको उनको भनाई थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले बालमैत्री स्थानीय शासन घोषणा गरिने तर कार्यान्वनमा चासो नराखिने गरेको प्रति लक्षित गर्दै घोषणालाई भन्दा कार्यान्वनयलाई दीगोपनामा ध्यान दिनुपर्ने बताए । दीगो कार्यान्वयन गर्न जिल्लाका स्थानीय तहलाई घलानले सुझाव दिए । मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बालमैत्री शासनको लागि चौतर्फी ध्यान दिइएको बेला अन्य वर्गको समेत संरक्षण चासो राख्नुपर्ने बताए । ज्येष्ठ नागरिक, अपाङ्ता, महिला सबैवर्गमैत्री संरचना र शासन हुनुपर्ने प्रजिअ पाण्डेको जोड छ ।
यसैगरी बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले बालमैत्री स्थानीय शासनको लागि संरचना शिक्षालागतयको सवालसँगै पौष्टिक आहारको सवालमा पनि सरोवारवालहरुले ध्यान पु¥याउनु पर्ने बताए । ‘बालविवाह रोकेर मात्रै बालमैत्री हुने हैन, यसको आयाममाथि ध्यान दिनु र लगानी हुनु आवश्यक छ’, लामिछोने भने । प्लान इन्टरनेशनलको सहयोगमा भएको कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रवक्ता सविन न्यौपानेले बालबालिकाको सन्दर्भमा कुरा गर्दा जनप्रतिनिधिसँग समाज
नै रुष्ट हुने अवस्था आइसकेको बताए ।
कार्यक्रममा बालअधिकार परिषद् बागमती प्रदेशका सदस्य झविन्द्र ज्ञावलीले स्थानीय सरकारले लागि परेको अवस्थामा बालमैत्री शासन अवलम्बन सम्भव र सहज
रहेको बताए । स्थानीय तहमा बाल अधिकार समिति गठन गरेर बालबालिका मार्फत नै काम गर्ने हो भने बालहितको लागि धेरै काम गर्न सकिने ज्ञावलीको दाबी छ । राडो नेपालका अध्यक्ष डा कृष्ण धितालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, बालअधिकार सम्पर्क व्यक्ति, बाल अधिकारको क्षेत्रमा क्रियाशिल गैससका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । आत्माराम थापाले बालमैत्री स्थानीय तहको लागि आवश्यक नीति नियम कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।







