मनहरीमा ट्याक्टर दुर्घटनाः ३ जनाको मृत्यु

साझाकुरा
२०८० बैशाख १२, मंगलवार ०९:३७

हेटौंडा- मनहरी गाउँपालिका–३ कालिदमारमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । सोमबार राति करिब ९ बजे कालिदमारस्थित भित्रि सडक–खण्डमा मिलडाँडातर्फबाट हाँडीखोला जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्याक्टरमा ५ जना सवार रहेका थिए ।

ट्याक्टरमा सवार रहेका ३ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मनहरी–३ हाँडीखोलाका ३० वर्षीय बीरमान रुम्बाको र मनहरी–४ सालघारी बस्ने २० वर्षीय प्रवीण प्रजाको मृत्यु भएको छ । रुम्बा र प्रजालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । मनहरी–३, हाँडीखोला बस्ने २४ वर्षीय राजकुमार प्रजाको उपचारको क्रममा चुरेहिल अस्पतालका चिकित्सकले मृत घोषणा गरेका छन् ।

मनहरी गाउँपालिकाको सडक र नाली निर्माण गर्ने क्रममा निर्माण सामग्री पु¥याएर फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको स्थानीयले बताएका छन् । दुर्घटनामा घाइते भएकाहरुको उद्दारका लागि स्थानीयले जेसीबी मेसिनको सहाराले उद्दार गरेका थिए । ट्याक्टर पल्टिएर चेपिएको अवस्थामा जेसीबीले निकालेर उपचारका लागि अस्पतालतर्फ पठाइएको स्थानीय ऋषिराम गौतमले जानकारी दिएका छन् ।

ट्याक्टर दुर्घटना भएको स्थल नजिकै मनहरी गाउँपालिकाले पक्की पुल निर्माण गरिरहेको छ । तर, गत मंसिर २०७९ मै पुल निर्माण गरिसक्नु पर्ने निर्माण कम्पनी भैरव–नारायण–गणेश जेभीले पुल अलपत्र बनाइराखेको छ । पुल नहुँदा सवारी साधनहरु जोखिमको यात्रा गर्न बाध्य छन् । सोमबार नै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अलपत्र पुलको स्थलगत निरीक्ष गर्दै ठेकेदार शिव चौलागाईंलाई काम सुरु गर्न ५ दिनको अल्टिमेटम दिएका थिए ।

ट्याक्टर दुर्घटनामा परी घाइते भएका मनहरी–३ हाँडीखोला बस्ने २४ वर्षीय अमृत प्रजाको स्वास्थ्य अवस्था मध्यम रहेको छ । ठेगाना नखुलेको ४५ वर्षीय जोखलाल प्रजाको अवस्था पनि मध्यम रहेको डिएसपी कार्कीले जानकारी दिए । शरीरको विभिन्न भागमा चोट लागेको उनीहरु बोल्न सक्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । पाँचै जनालाई ट्याक्टरले थिचेको घटनास्थलमा रहेका प्रहरी नायवनिरीक्षक शंकर शर्माले जानकारी दिए ।

घाइते सबैलाई अचेत अवस्थामा जेसीबी प्रयोग गरेर उद्दार गरिएको थियो । ट्याक्टर दुर्घटना हुनुको कारण खुल्न नसकेको शर्माले बताए । प्रहरी निरीक्षक नेतृत्वको टोलीले घटनामा अनुसन्धान गरिरहेको छ । रातिको समय भएका कारण उद्दारकार्यमा समस्या भएको स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*