परम्परागत पञ्चेबाजा संरक्षणमा जुटे हेटौंडाका महिलाहरु
हेटौंडा- हेटौंडा उपमहानगरपालिका १ नम्बर वडा कार्यालयले महिलाहरुलाई पञ्चेबाजा बजाउन सिकाउने तालिम शुक्रबार सुरुवात गरेको छ । समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै गइरहेको छ । लोप हुन लागेको बाजाको संरक्षणर प्रबद्र्धन गर्न वडा कार्यालयले पञ्चेबाजा तालिम दिएको वडा अध्यक्ष सविन न्यौपाने बताउँछन् । रैथाने संस्कार, सँस्कृति र परम्परा जोगाउँदै महिलाहरुको आयआर्जन अभिबृद्धिसमेत गर्ने उद्देश्यले पञ्चेबाजा बजाउने तालिम दिएको उनको भनाइ छ ।
पञ्चेबाजा बजाउने तालिम उद्घाटन गर्दै हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाले पञ्चेबाजाको संरक्षणमा उपमहानगरले आगामी दिनमा योजनाबद्ध तरिकाले काम गर्ने बताइन् । उनले पञ्चेबाजा तालिम दिने, आवश्यक सामग्री खरिद गरिदिने र प्रतिस्पर्धाको माध्यमबाट कला तिखार्ने कार्यमा उपमहानगरले सदैव सहयोग गर्ने बताइन् । नगर प्रमुख लामाले पञ्चेबाजा लोप हुने अवस्थामा रहेकाले संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताइन् ।
पञ्चेबाजा सिकेपछि महिलाहरुको आर्थिक आयआर्जनमा पनि सहयोग पुग्ने उनले बताइन् । समाज परिवर्तन भइसकेको भन्दै राम्रो जुनसुकै काम गर्न अप्ठेरो मान्न नहुने उनको भनाइ थियो । मेयर लामाले महिलाहरुले आफ्नो क्षमता विकास गरी आफ्नो प्रस्तुति देखाउनसमेत महिलाहरुलाई सुझाएकी थिइन् । वडाका २५ जना महिलालाई सहभागी गराएर पञ्चेबाजा तालिम सुरु गरिएको हो ।
परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको संख्या घट्दै गएको छ । युवापुस्ताहरु विदेशिने क्रम बढेको र पञ्चेबाजातर्फ युवापुस्ताको आकर्षण कम देखिएकाले महिलाहरुलाई बाजा बजाउन सिकाएर पञ्चेबाजा संरक्षण अभियानमा जोड्ने अभियान १ नम्बर वडाले लिएको हो । पछिल्लो समय आयातित बाजाले
परम्परागत बाजा लोप हुने खतरामा पुगेको छ ।
वडाध्यक्ष न्यौपानेले लोप हुने अवस्थामा पुगेको पञ्चेबाजाको संरक्षण गर्न वडा कार्यालय लागिपरेको बताए । समाजमा भएका अन्धविश्वासलाई तोड्दै महिलाहरुलाई बाजा बजाउने सीप दिन लागिएको न्यौपानेले बताए ।लोपन्मुख पञ्चेबाजा संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको तालिमले मौलिक कला, संस्कृति तथा सम्पदा संरक्षणमा सहयोग पुग्ने र संस्कृति बचाउने बिषय आफैंमा महत्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइराला, पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, नेपाली काँग्रेस बागमती प्रदेश सदस्य जानकी गिरी, कार्यपालिका सदस्य ईश्वरी रसाइली, १ नम्बर वडा सदस्यहरु रामकृष्ण अधिकारी, सोनामसिं ब्लोन, मनु दाहाल, सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, जनस्वास्थ्य निरीक्षक भोला चौलागाई, समाजसेवी हरिकृष्ण महर्जन, डीवी थापालगायतको आतिथ्यता थियो ।
४५ दिनसम्म चल्ने तालिममा कालिटार नौमती बाजा समूहले २५ जना महिलाहरुलाई दैनिक २ घण्टाको दरले प्रशिक्षण दिनेछ । तालिमको लागि वडा कार्यालयले एकलाख ७० हजार रुपियाँ खर्चेको वडा सचिव शान्ता लौडारीले जानकारी दिइन् ।







