मकवानपुरको झण्डै चार हजार हेक्वटर वनमा डढेलो

साझाकुरा
२०८० बैशाख २४, आईतवार १५:२८

हेटौंडा- स्थानीयको चरम लापरबाही र सरकारी निकायको कर्मकाण्डी कार्यशैलीले गर्दा मकवानपुरको झण्डै ४ हजार हेक्टर वन क्षेत्रमा यो वर्ष डढेलो लागेको छ ।करिब ४ हजार हेक्टर वनमा डढलो लागेको समयावधि भने जम्मा डेढ महिना मात्रै छ । चैत महिनादेखि वैशाख तेस्रो हप्तासम्म मकवानपुरका १० वटै स्थानीय तहमा डढेलो लागेका छन् । डढेलो लगाउनेमा पहिलो स्थानीय नागरिक नै हुने गरेको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ । घाँसको लोभमा स्थानीयले डढेलो लगाउने गरेका छन् । तर, सरकारी निकाय भने चैतदेखि डढेलो लाग्न सुरु हुने जान्दाजान्दै सचेतनाका कार्यक्रममा मात्रै सीमित हुने गरेका छन् ।

हेटौंडामा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयदेखि वन निर्देशनालय, जिल्लामा दुई वटा डिभिजन वन कार्यालय छन् । तर, कर्मकाण्डी काम गर्ने शैलीले भने वनमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन ।डिभिवन वन राप्ति मनहरीले केही समयअघि डढेलो लगाउने मनहरीका दुई जनालाई कानुनी कठघरामा उभ्याएको थियो । तर, सम्भवत डढेलो लगाउनेलाई कारबाही गरिएको थोरैमध्ये एउटा घटना थियो । डढेलो लगाउनेको पहिचान हुन नसक्दा वनमा निरन्तर आगो लाग्दै आइरहेको छ । वैशाख पहिलो हप्ता हेटौंडाको रानी सामुदायिक वन, भैरवडाँडा सामुदायिक वनमा डढेलो नियन्त्रणमा आउन नसक्दा स्थानीयहरु आत्तिएका थिए । डढेलो नियन्त्रण हुन नसक्दा स्थानीयहरु घरसम्मै आगो आइपुग्ने त्रासमा बस्न बाध्य भए । सँगसँगै वन कार्यालयले डढेलो नियन्त्रण नगरेको भन्दै रुष्ट पनि बनेको पाइएको थियो ।

तर, वन क्षेत्रमा डढेलो लगाउने स्थानीयको पहिचान गरेर कारबाहीको लागि जानकारी दिन कसैले नचाहेको डिभिजन वन मकवानपुर स्रोत बताउँछ । जिल्लामा ३ सय सय बढी सामुदायिक वनको १ लाख ६६ हजार ५ सय ३३ वन क्षेत्र छन् । जसमध्ये चैतदेखि वैशाख तेस्रो हप्तासम्म मकवानपुरको ३ हजार ८४८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभजन वन मकवानपुर र डिभिजन वन राप्ति मनहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरअन्तर्गत रहेको वनमा गतवर्षको चैतसम्म २ हजार ६ सय ४८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको प्रमुख शिव सापकोटाले जानकारी दिए । डिभिजन वन कार्यालय, राप्ती मनहरीतर्फ वैशाखसम्ममा १ हजार २ सय हेक्टर वनमा डढेलो लागेको प्रमुख विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

सबैभन्दा बढी बकैया, बामगती र हेटौंडा उपमहानगरमा क्षेत्रका वनमा डढेलो लागेको छ । राक्सिराङ, कैलाश, मकवानपुरगढी र भीमफेदीमा पनि वन डढेलो अत्याधिक भएको वन कार्यालयले जानकारी दिएका छन् । थाहा, मनहरी र इन्द्रसरोवरमा भने तुलनात्मक रुपमा कम क्षेत्रफलमा डढेलो लागेको जनाइएको छ । डिभिजन वन मकवानपुरको सव डिभिजन छतिवनमा २ सय २ दशमलव ५० हेक्टर, सव डिभिजन बकैयाको १ हजार ९५ हेक्टर, सव डिभिजन मकवानपुरगढीको ८० दशमलव ५० हेक्टर, सव डिभिजन भिमफेदीको २० हेक्टर, सव डिभिजन राईगाउँको २ सय १७ हेक्टर, सव डिभिजन बागमतीको ७ सय ८५ हेक्टर, सव डिभिजन हर्नामाडीको १ सय ८० हेक्टर र सव डिभिजन हेटौंडाको ५० हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो ।

बागमतीमा डढेलो लाग्दा घरगोठ जलेको थियो । मकवानपुरगढीमा खानेपानीको पाइन जलेर नष्ट हुन पुग्यो । डढेलोले जंगली जनावरको मृत्युदेखि खानेपानी पाइपसम्म जलेर नष्ट हुँदा राज्यलाई लाखौं खर्च हुन पुगेको छ । प्राकृतिक जीवनचक्रमा समेत ठूलो असर परेको छ जुन कुराको मूल्य नै छैन । वन डडेलोले मानव स्वास्थ्यमा पार्ने नकारात्मक प्रभाव र प्रकृतिमा पुग्ने नोक्सानीको कुनै मूल्य नै छैन । प्रकृतिको अनमोल उपहार आगोमा जलिरहेको छ ।वनमा लागेको डढेलो कारण जिल्लामा चार परिवारको घर तथा गोठ जलेर लाखौंको धनमाल नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीको तथ्यांकअनुसार वनकै डढेलो सल्केर बकैया र कैलाशमा दुई–दुई घर तथा गोठ जलेर नष्ट भएको हो । आगलागीबाट २० लाख भन्दाबढी नीजि धनमाल नष्ट भएको उनको दाबी छ । रानी सामुदायिक वन विश्वकै लोपन्मुख सालकको बासस्थान हो । सालकको संरक्षण गर्दै आइरहेको रानी वनमा लागेको डढेलोले कति क्षति पु¥याएको भन्ने तथ्यांक अहिलेसम्म आएको छैन । डढेलोले वनका साना बिरुवा, पातपतिंगर, साना बुट्यान वनका चराचुरुङ्गी, विभिन्न जडीबुटी पूर्णरुपमा नष्ट भएका छन् ।

डढेलो कारण्का एउटा मृग जलेर मरेको डिभिजन वन कार्यालय मकवानपुका प्रमुख सापकोटाले जानकारी दिए । मकवानपुरको वन क्षेत्रमा २७ वर्ष यताकै सबैभन्दा ठुलो डढेलो लागेको डिभिजन वन कार्यालय, राप्तिका प्रमुख विष्णु आचार्यको दाबी छ । डढलोबाट मानवीय क्षति भएको छैन । हिउँदे वर्षा कम हुनु, वनमा प्रज्ज्वलनशील पदार्थ अत्यधिक हुनु, सुख्खा मौसम, नयाँ घाँस पलाउने आश, सलाई, लाईटर, चुरोट बिडीलगायतको लापरवाहीपूर्ण प्रयोगले गर्दा वनमा डढेलो बढी लागेको डिभिजन वन कार्यालय, राप्तिका प्रमुख आचार्य बताउँछन् । पछिल्लो समय वनको बिषयमा उपभोक्ताको सक्रियता कम हुनु पनि डढेलोको कारण रहेको उनको अनुभव छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*