आज मन्त्रिपरिषद् विस्तार, कांग्रेसको दबाब कायमै
हेटौडा-बागमती प्रदेशमा सरकार पुनःगठनको ५७ औं दिनमा बल्ल सरकार विस्तार हुने भएको छ । लामो समयदेखिको भागबण्डा विवाद ४ जेठमा मिलेसँगै आज आइतबार थप मन्त्रीहरु नियुक्त हुँदैछन् ।तत्कालीन माओवादी केन्द्र, नेकपा एमाले र राप्रपाबीचको गठबन्धन सरकार फेरबदल भएर माओवादीले कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग मिलेर १० चैतमा प्रदेश सरकार गठन भएको थियो । करिब दुई महिनामै प्रतिपक्षको बेञ्चबाट सत्तामा आइपुगेको कांग्रेस र एकीकृत समाजवादीले १० चैतमा मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिएका थिए । दोस्रो पटक विश्वासको मत पाएसँगै सरकारको नेतृत्व गरिरहेका जम्कट्टेललाई भने मन्त्रिपरिषद् पूर्णता दिन धेरै संघर्ष गर्नुपरेको छ ।
प्रादेशिक तहमै कार्यदल बनाएर सरकार विस्तारको बाटो तय गर्न चाहेका जम्कट्टेललाई कांग्रेसको अडानले सहज हुन सकेको थिएन । प्रदेश गठबन्धन तहमा पटक–पटकको वार्ता सफल हुन नसकेपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ चैत साँझ बालुवाटारमा नेताहरु बोलाएर सहमति गराएपछि बागमतीमा सरकार विस्तारको गाँठो फुकेको थियो ।
आज प्रदेश प्रमुखको कार्यालयमा दिउँसो २ बजेका लागि सपथ ग्रहण कार्यक्रम राखिएको स्रोतले जानकारी दिएको छ । ११ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा ५ मन्त्री नियुक्त हुन बाँकी छ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय र नेपाली कांग्रेसले २ वटा मन्त्रालय मात्रै सम्हाल्दै आएका थिए । केही दिनअघि मात्रै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आन्तरिक रुपमा मन्त्रालय भागबण्डा लगाउँदै कांग्रेसलाई आफूले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी दिएका थिए ।पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा कांग्रेसबाट नयाँ मन्त्री नियुक्त हुने जनाइएको छ ।
जसमा कांग्रेसको भागमा ५ वटा मात्रै मन्त्रालय परेको थियो । तर, कांग्रेसले निरन्तर रुपमा ६ वटा मन्त्रालय मागेको थियो । नेकपा (एकीकृत समाजवादी) ले २ वटा मन्त्रालयको अडान नछाड्नु र कांग्रेसले ६ वटामै दाबी गरिरहनुले सरकार विस्तारमा मुख्यमन्त्री जम्कट्टेललाई अप्ठेरो परेको थियो । बालुवाटार सहमतिअनुसार एकीकृत समाजवादीले २ वटा मन्त्रालय पाउने पक्का भएको पार्टीका सांसद तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले जानकारी दिए ।
मुख्यमन्त्री जम्कट्टेलले लगाएको भागबण्डाअनुसार फेरबदल नभए एकीकृत समाजवादीलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय टुंगो लागेको छ ।
कांग्रेसले भने सरकार विस्तारलाई लिएर अझै दबाब कायम राखेको स्रोतले जानकारी दिएको छ । कांग्रेसले यसअघि लगाएको भागबण्डाबाहेक थप एक सांसदलाई तत्कालका लागि बिनाविभागीय मन्त्रालयको जिम्मेवारी दिएर जानुपर्ने दबाब दिएको छ । ‘कांग्र्रेसबाट आज थप ३ जना मन्त्री नियुक्त हुन्छन् । एक जनालाई बिनाविभागीय मन्त्रीको जिम्मेवारी दिएर जानुपर्ने कुरा पनि छ ।,’ स्रोतले भन्यो ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामा र नेकपा (एकीकृत समाजवादी) का नेता तथा निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाललाई राखेर प्रधानमन्त्री प्रचण्डले विवाद मिलाएका थिए । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सरकारका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितको बालुवाटार बैठकमा प्रचण्डले लामा र खनाललाई मिलेर जान सुझाएसँगै बिनाविभागीय मन्त्री नियुक्तको सम्बन्धमा निर्णय भए वा नभएको स्पष्ट जानकारी भने आएको छैन ।
५–४–२ को भागबण्डा लागिसकेपछि पनि एकीकृत समाजवादीलाई १ मन्त्री र १ राज्यमन्त्री दिएर यसअघि कांग्रेसले ६ वटै मन्त्रालयमा अडान राखेपछि एकीकृत समाजवादीले सरकार छोड्नेसम्मको चेतावनी दिएको थियो । प्रदेश सरकारमा खटपट हुने संकेत पाएपछि प्रधानमन्त्री प्रचण्डले नेताहरुलाई बालुवाटारमा बोलाएका थिए । यसअघि गत बुधवार नै नयाँ मन्त्रीहरुको सपथग्रहण कार्यक्रम राखेर एकाएक रोकिएको थियो । कांग्रेसले सपथग्रहणमा आउँछु भनेर पनि पछि उपस्थिति हुन नसकेको सन्देश पठाएको चर्चा छ ।
कांग्रेसबाट २६ चैतमै आर्थिक मामिला तथा योजना र खानेपानी, उर्जा तथा सिचाई मन्त्रालय पाएसँगै ५ वटा मन्त्रालयको भाबगण्डा लागेको हो । लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामाले खानेपानी तथा सिचाईं मन्त्रालय लिएका थिए । आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा जुटेको सरकारलाई पूर्णता दिन मुख्यमन्त्री जम्कट्टेल हत्तारिएका थिए ।
बागमती प्रदेशसभामा कूल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत छ । मुख्यमन्त्री जम्कट्टेललाई हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि विश्वासको मत दिएको थियो ।







