पहिलो सेवाग्राहीलाई सम्मान
हेटौंडा-जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा रहेको नापी कार्यालयले आइतबार सेवा लिन आएका पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । नापी विभाग स्थापनाको ६६ वर्ष पुगेको अवसर पारेर नापी कार्यालय शिखरकोटमा आउने सेवाग्राहीलाई फूलको गुच्छाले स्वागत गरेको हो । नापी कार्यालय शिखरकोटका प्रमुख गोपालनारायण भुजेल सहित कार्यालयका कर्मचारीहरुले थाहा–१० टौखेलका रामबहादुर गोपालीलाई फूलको गुच्छा र खादा सहित स्वागत गरिएको कार्यालयका प्रमुख भुजेलले जानकारी दिए ।
नापी विभागको स्थापना दिवसमा आइतबार विविध कार्यक्रम गरी मनाउने निर्णय अनुसार कार्यालयमा आउने पहिलो सेवाग्राहीलाई सम्मान, कार्यालय परिसर सरसफाइ र साँझ कार्यालय हातामा दीपावली गरेर मनाइएको नापी कार्यालय शिखरकोटले जनाएको छ ।







