गर्मी बढेपछि हेटौंडादेखि गाउँसम्मै पठनपाठन प्रभावित
हेटौंडा-विगत हप्ता दिनदेखि मकवानपुरको तल्लो क्षेत्रमा अत्याधिक गर्मी बढेपछि पठनपाठन प्रभावित बनेका छन् ।हेटौंडा उपमहानगरदेखि, बकैया र मनहरीका विद्यालयहरुले गर्मीका कारण बालबालिकालाई जोखिममा पर्नेगरी विद्यालय नआउन सूचित गरेका छन् । हेटौंडामा विगत दुई दिनदेखि अत्याधिक गर्मी बढेपछि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको थियो । गर्मी बढेसँगै विद्यार्थीहरुलाई पठनपाठनमा असहज भएको र स्वास्थ्यमा समस्यासमेत देखा परेको भन्दै निश्चित दिनसम्म विद्यालय बन्द गर्नुपर्ने आवाज उठेको हो । हेटौंडामा गर्मी बढेपछि जनजीवन प्रभावित बनेको हो । कंक्रिट ढलानले भरिएको बजार क्षेत्रमा गर्मीका कारण हावासमेत तातो चल्न थालेको सर्वसाधारणले गुनासो गरेका छन् ।
साना बालबालिकामा गर्मीका कारण स्वास्थ्य समस्या देखिएकाले विद्यालय बन्द गर्न चिकित्सकहरुले नै सुझाव दिएपछि हेटौंडा उपमहानगरपालिका र बकैया गाउँपालिकाले विद्यालय बन्द गराउने निर्णय गरेका छन् । बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने भएको छ । पालिकाले सूचना जारी गर्दैं २१ जेठ आइतबारदेखि २७ जेठसम्म विद्यालय बन्द रहने जनाएको छ ।
बकैया गाउँ शिक्षा समितिले बर्षे विदामा मिलान हुने गरी बकैयाको सामुदायिक तथा संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको थियो । विद्यार्थीको पठनपाठन बन्द भएपनि विद्यालयको प्रशासनिक काम नियमित रुपमा सुचारु रहने बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।शनिवार हेटौंडाको ४, ५ र १० नम्बर वडाले पनि वडाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय बिदा दिने निर्णय गरेका छन् । वडा कार्यालयले बिदा दिने निर्णय गरेपछि उपमहानगरको शिक्षा शाखाले शनिवार नै सूचना जारी गरी आइतबारदेखि २६ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको उपमहानगरको कार्यपालिका बैठकले विद्यालयको अवस्था हेरेर वडा कार्यालयलाई नै विद्यालय बन्द गर्ने वा सञ्चालन गर्ने अधिकार दिएपछि शनिवार ४, ५ र १० नम्बर वडा कार्यालयले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । वडा नम्बर–५ का सामुदायिक तथा निजी विद्यालयहरु बन्द गरिने भएको वडाअध्यक्ष सुशील घिमिरेले जानकारी दिए । २३ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उनले बताए ।
ठूला सामुदायिक तथा संस्थागत विद्यालय रहेको ४ नम्बर वडा कार्यालयमा शनिवार बसेको शिक्षा समन्वय समितिको बैठकले २३ जेठसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । गर्मी बढेका कारण तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको ४ नम्बर वडाअध्यक्ष नवीन सिग्देलले जानकारी दिए । हेटौंडा–४ का जनप्रतिनिधि र शैक्षिक गुणस्तर सुधार समिति र विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरुको संयुक्त बैठकले निर्णय गरिएको सिग्देलले जनाए । ४ नम्बर वडाले शिक्षाको सुधारको लागि बजेट विनियोजनको लागि सुझाव संकलन गर्ने वडाअध्यक्ष सिग्देलले बताए ।







