हास्यव्यङ्यकार रिजाल सम्मानित हुने
हेटौंडा- वरिष्ठ हास्यव्यङ्यकार आरसी रिजाल डा.गणेशकुमार पौडेल स्मृति हास्यव्यङ्य सम्मान २०८० बाट सम्मानित हुने भएका छन् । सिस्नुपानी नेपाल मकवानपुरद्वारा २५ हजार राशीको नगदसहित सम्मानित हुन लागेका रिजालले भैरव प्रतिभा पुरस्कार २०५७, यति सम्मान, दायित्व वाङ्मय विशिष्ट सम्मान २०७८, ज्ञानदीप हास्यव्यङ्य सम्मान २०७७, अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान, जिल्लागत बुढ्यौली साहित्य समाजद्वारा विभिन्न सम्मान लगायत दर्जनौं सम्मान प्राप्त गरिसकेका छन् ।
अशक्त, बुढ्यौलीले छोएका, आर्थिक अवस्था कमजोर रहेकादेखि थुप्रै सर्जकलाई कहिले दाता खोज्दै त कहिले आफैंले नगद सहयोग समेत गर्दै हिँड्ने रिजालको अगुवाईमा दर्जनौं सर्जक सम्मानित भैसकेका छन् । आफूले पाएको रकम पुरस्कारमा जम्मा गरिदिनेदेखि छोराको बिहेभोजमा खर्च नगरेर सर्जकलाई हस्तान्तरण गर्ने त्यागी साहित्यकार रिजाल यस्ता कामले लेख्नेहरुलाई हौसला मिल्ने बताउँछन् ।
को वरिष्ठ ?, हाकिमको खप्पर, कण्ठल·ौटी जस्ता हास्यव्यङ्य पुस्तक लेखेर नेपाली हास्यव्यङ्य साहित्यको उन्नयनमा लागेका रिजालले भारतीय लेखकका रचना समेत नेपाली भाषामा अनुवाद गरेका छन् । हास्यव्यङ्य लेखनमा सक्रिय भई गोपालप्रसाद रिमाल, भैरव अर्याल, भानुभक्त आचार्य, पारिजात, लक्ष्मीप्रसाद देवकोटा लगायत साहित्यकारहरुको प्रतिमा स्थापनामा समेत अगुवाई गरेका रिजाल बुढ्यौली साहित्य समाज मकवानपुरका अध्यक्ष छन् । यस संस्थाले अघिल्लो वर्ष दाना कविताका सूत्रपात गर्ने साहित्यकार तुल्सी थापालाई २ लाख नगदसहित अभिनन्दन गरेको थियो ।
रिजालका सम्बन्धमा हास्यव्यङ्य कलाकार मनोज गजुरेल भन्छन् ‘मोफसलमा रहेर हास्यब्यङ्यको श्रीवृद्धिमा सक्रिय साधक तर, गम्भिर स्वभावमा हँसिला सिर्जनाका सर्जक अनि धेरैले चिन्नुपर्ने तर, कमले जानेको साहित्यकार हुनुहुन्छ आरसी सर ।’२०६१ सालदेखि निरन्तररुपमा अक्षय अक्षर साहित्यिक पत्रिका प्रकाशन गराउँदै आएका र ४० वर्षमाथि लेखन जीवन बिताइसकेका रिजालले विगतमा सिस्नुपानी नेपाल मकवानपुर, साहित्य संगम मकवानपुर, पुष्पलाल स्मृति पुस्तकालय लगायतका संस्थाहरुको नेतृत्व गरिसकेका छन् ।
सिस्नुपानी नेपालको स्थापना हुनासाथ मकवानपुरमा समेत यसको जिल्ला शाखा स्थापना गराई हास्यव्यङ्य लेखनमा सक्रिय रिजालले आफूपछाडि संस्थालाई सक्रियरुपमा सञ्चालनमा हौसला दिँदै आएका र सोही क्रममा मकवानपुरका स्रस्टालाई समेत सिस्नुपानी केन्द्रसँग जोड्दै हास्यव्यङ्यमा दशकौंदेखि निरन्तर सेवा गरेका छन् ।साहित्य संगम तथा सिस्नुपानी मकवानपुरलाई आफ्नै आँगन काटेर संयुक्तरुपमा हस्तान्तरण गरको घडेरीमा बनेको भवनमा मकवानपुरका अधिकांश साहित्यिक संस्थाले साझा घरकारुपमा विमर्श, वाचन, पुस्तक विमोचन आदि गतिविधि गर्दै आएका छन् ।







