हेटौंडा अस्पतालमा स्वास्थ्यमन्त्री बस्नेतको छड्के अनुगमन

साझाकुरा
२०८० जेष्ठ २६, शुक्रबार १०:१७

हेटौंडा- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । बिहीबार हेटौंडा आएका मन्त्री बस्नेतले आकस्मिकरुपमा अस्पतालको अनुगमन गरेका हुन् ।मन्त्री बस्नेतसहित प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशी, स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का लगायतले अस्पतालको अनुगमन गरेका थिए । मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, टिकट काउण्टर, बहिरंग (ओपीडी) सेवाकक्ष, फार्मेसी, प्रयोगशाला, प्रसूतिकक्ष लगायतको स्थलगत अनुगमन गरेका थिए ।

मन्त्री बस्नेतले अनुगमनका क्रममा सेवाग्राहीको गुनासो समेत सुनेका थिए । उनले अस्पतालको आकस्मिक कक्षमा रहेका बिरामीको गुनासो सुन्दै उपचार तथा सेवा प्रवाहमा कुनैपनि कमीकमजोरी नहुने प्रतिबद्धता व्यक्त गरे ।त्यस्तै मन्त्री बस्नेतले अस्पतालको ओपिडी, टिकट काउण्टर, फार्मेसी तथा प्रयोगशालामा रहेको भिड नियन्त्रणका लागि आवश्यक व्यवस्थापकीय काम सम्पन्न गर्न हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेनट डा.रामचन्द्र सापकोटालाई निर्देशन दिएका थिए ।

अस्पतालको ओपिडी, आकस्मिककक्ष तथा प्रसूतिकक्षको सरसफाइमा विशेष ध्यान दिन सापकोटालाई निर्देशन दिए । उनले स्वास्थ्य बीमामा देखापरेका समस्या र औषधि नपाउने गुनासोलाई तत्काल समाधान गरेर अघि बढ्न पनि निर्देशन दिएका थिए । सेवाग्राहीले हेटौंडा अस्पतालको सेवाप्रवाहमा सुधार हुँदै गएको बताएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*