गर्मीले जनजीवन अस्तव्यस्तः पानीका स्रोत सुक्दै, विद्यालय बिदा लम्बिदै
हेटौंडा-चर्को गर्मीका कारण एक साताका लागि विद्यालयको पठनपाठन बन्द गरेको हेटौंडा उपमहानगरले आइतबारदेखि थप २ दिन बिदा दिने निर्णय गरेको छ । शनिबार सूचना जारी गर्दै सोमबारसम्म विद्यालयको पठनपाठन बन्द गर्ने बताइएको छ । शुक्रबारसम्मका लागि बिदा दिएका मनहरी गाउँपालिकाले जेठ मसान्तसम्म विद्यालय बिदा दिने निर्णय गरेको छ । मनहरी गाउँपालिका शिक्षा प्रमुख हरिचन्द्र सापकोटाले मौसममा सुधार नआएका कारण गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको सुझाव अनुरुप बुधबारसम्मका लागि बर्षेबिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने सूचना जारी गरिएको जानकारी दिएका छन् । मौसममा सुधार आएको खण्डमा विद्यालयको पठनपाठन सुचारु गर्न सकिने बताइएको छ । राक्सिराङ, बकैया, मकवानपुरगढीले भने कुनै निर्णय गरेका छैनन् ।
मनहरीका केही विद्यालयले आइतबारदेखि बिहानी कक्षा सञ्चालन गर्ने निर्णय भएको सूचना जारी गरिरहेका थिए । पालिका तहबाटै जेठ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय आएपछि बिहानी कक्षा चलाउने सूचनाबाट विद्यालय पछि हटेका छन् । बढ्दो गर्मीका कारण सामान्य जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । चर्को घामले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने बर्ग सबैभन्दा बढी प्रभावित भएका छन् भने विद्यालयको पठनपाठन पनि ठप्प भएको छ ।
चर्को घामका कारण खेतीपाती, मजदूरी गर्नेहरुलाई समस्या भएको छ । दिउँसो अत्यधिक गर्मी हुने भएपछि बिहान र बेलुकी काम गरिएको छ । घाम र तातो हावाका कारण कतिपय काममा जान सकेका छैनन् । पानीका स्रोतहरु सुक्ने क्रम बढेको छ । पानी नभएपछि खेतबारीमा लगाइएको बाली सुक्न थालेको किसानहरुले बताएका छन् । किसानले बर्खे धानको बीउसमेत राख्न पाएका छैनन् ।
विद्यालय बिदा भएपनि बालबालिकालाई घरमा अभिभावकले निगरानी गर्न विद्यालयले आग्रह गरिरहेका छन् । तातो हावाबाट बच्न बालबालिकालाई घरबाट निस्कन नदिने, घरभित्र अर्थात् चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी ननिस्कन, सुतीका हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, नियमित पानी तथा झोलकुराहरु, सर्बत प्रशस्त मात्रामा पिउन विज्ञले सुझाव दिइरहेका छटन् ।
मकवानपुरको तल्लो क्षेत्रका अधिकांश पानीकास्रोतहरु सुक्दा खानेपानीको समस्या भएको छ । पानीको मुलहरुमा पानी आउन छोडेको र खानेपानीको समस्या भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा गुनासो गरिरहेका छन् । हेटौंडा खानेपानी बोर्डले पानीको उत्पादन कम भएकोले पानी बितरणमा केही समस्या आएको बताएको छ । बोर्डका अध्यक्ष प्रताप बिष्टले शनिबार सामरीमा थप पानी उत्पादनका लागि बोरिङ मेसिन जडान गर्ने कार्य भइरहेको बताएका छन् ।
जमिनको सतहमा धारा राख्नेहरुले पानी उपभोग गरिरहेको भएपनि दुई÷तीन तलाभन्दा माथि ट्याङकीमा पानी नचढेका कारण उपभोक्ताले गुनासो गरिरहेका छन् । मौसमी प्रणालीमा सुधार आएपछि पानी आपूर्तिमा पनि सुधार आउने बोर्डका अध्यक्ष बिष्टले साझाकुरालाई बताए । पानीको स्रोतमा समस्या आएपछि बोर्डको पानी आपूर्ति गर्ने प्रणालीमा पानी घटेकोले समस्या भएका नगरका केही स्थानमा बोर्डले ट्याङ्करबाट पानी आपूर्ति गर्ने सूचना जारी गरेको अध्यक्ष बिष्टले जानकारी दिए ।
नेपालमा आउँदो मंगलवारदेखि गर्मी केही कम हुने मौसमविद्ले अनुमान गरेका छन् । अरब सागरमा विकसित भएको आँधी र ब·ालको खाडीमा विकसित न्यूनचापीय अवस्थाका कारण आउँदो मंगलवारदेखि नेपालको मौसमी प्रणालीमा बदली भइ गर्मी घट्ने सम्भावना रहेको जलवायु तथा विपदविज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन् । यी दुईवटा प्रणालीले मनसुनी वायुलाई उत्तरतर्फ धकेल्न सहयोग गर्ने भएकाले मंगलवार वा बुधवार मनसुन नेपालमा प्रवेश गर्ने सम्भावना देखिएको उनले बताएका छन् ।
शबिार मनसुन भारतको केरलाको सबै भागसहित कर्नाटकका केही भाग र ब·ालको खाडीको पूर्व र उत्तरभागमा पुगेको छ । त्यहाँ आउँदो ४८ घण्टामा मनसुन थप सक्रिय हुने भारतको मौसम विभागले जनाएको छ ।
चाँडो सक्रिय भइरहेको मनसुनलाई अरब सागरको आँधी र ब·ालको खाडीको न्यूनचापीय अवस्थाले चाँडो नेपालतर्फ धकेल्ने भएकाले नेपालमा गर्मी घट्ने दिन नजिकिएको जलवायुविज्ञहरुले बताएका छन् । तराई मधेसका जिल्लामा खपिनसक्नुको गर्मी उस्तै छ । मध्य र पश्चिम तराईका धेरैजसो ठाउँको तापक्रम ४१ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । तराई मधेसका जिल्लामा तातो हावा चल्ने क्रम जारी नै रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान् महाशाखाले अनुरोध गरेको छ ।







