मकवानपुरमा साइबर अपराधका ९५ उजुरी

साझाकुरा
२०८० जेष्ठ २८, आईतवार ०९:२६

हेटौंडा- मकवानपुरमा साइबर अपराधका घटना चालू आर्थिक वर्ष २०७९÷८० को ११ महिनामा ९५ वटा दर्ता भएका छन् ।पछिल्लो समय देशभर साइबर अपराधका घटना बढ्दा मकवानपुरमा पनि घटनाहरु वृद्धि भइरहेको देखिएको छ । बागमती प्रदेशको १० जिल्लामध्ये (उपत्यकाको तीन जिल्ला बाहेक) मकवानपुर साइबर अपराध बढी रहेको जिल्लाको दोस्रो स्थानमा छ । बागमती प्रदेशमा साइबर अपराधको घटना बढ्दै गएको पाइएको छ । बागमती प्रदेशमा प्रविधिको बढ्दो प्रयोग र सचेतना जगाउन नसक्दा साइबर अपराधका घटना बढेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्मको अवधिमा २ सय ८६ वटा साइबर अपराधको उजुरी दर्ता भएको छन् ।

उपत्यका बाहेकका १० जिल्लाको मात्रै तथ्यांक हेर्दा सबैभन्दा बढी उजुरी चितवनमा छ । जिल्ला प्रहरी कार्यलय चितवनमा दर्ता भएको उजुरी संख्या १ सय ६० छ । कुल उजुरीको झण्डै ६० प्रतिशत साइबर अपराधको उजुरी चितवनमा परेको हो । साइबर अपराधको उजुरी पर्ने दोस्रो जिल्ला मकवानपुर हो । मकवानपुरमा झण्डै ११ महिनाभित्र ९५ उजुरी दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ । काभ्रेपलाञ्चोकमा ८, सिन्धुलीमा ३, दोलखामा ३ र रामेछापमा ७, सिन्धुपाल्चोकमा ३, रसुवामा ३, नुवाकोटमा १, धादिङमा ३ वटा साइबर अपराध सम्बन्धी उजुरी दर्ता भएको बागमती प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।

सबैभन्दा धेरै उजुरी सामाजिक सञ्जाल ह्याक भएको छ । उजुरी परेको २ सय ८६ मध्ये सामाजिक सञ्जाल ह्याक गरेको भन्ने विषयमा मात्रै १ सय ३५ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । यस्तै, फेक आइडी बनाएर गरिएको अपराधमा ९० वटा उजुरी दर्ता भएका छन् । यस्तै, टिकटकमार्फत साइबर अपराध गर्ने २२ जना, इन्स्टाग्राममार्फत २८ जना, ट्वीटरमार्फत २, ह्वाट्सएममार्फत २ र पिएड्रेसमार्फत ७ वटा साइबर अपराधका उजुरी परेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*