पुल बनेपछि हेटौंडा–१ र १९ का जनता खुसी
हेटौंडा- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–१ सानुटारबाट हेटौंडा उपमहानगरपालिका–१ जोड्ने बेलीब्रिज (पुल) निर्माण भएपछि हेटौंडा–१ र १९ का नागरिकहरु खुसी भएका छन् । भीमफेदी–१ र हेटौंडा–१ जोड्ने पुलको शनिबार हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाले उद्घाटन गरिन् । उद्घाटन गर्दै मेयर लामाले बर्षातको समयमा किस्याडी खोला तर्न नसकेर आवातजावत गर्न कठिनाई भोग्दै आएका स्थानीयबासीलाई सहज भएको बताइन् ।
नेपाल सरकारका पूर्व स्वास्थ्य मन्त्री बिरोध खतिवडाद्वारा २० लाख, पूर्व सांसद मुनु सिग्देलद्वारा २० लाख र हेटौंडा उपमहानगरपालिकाको ३० लाख गरी कुल ७० लाख लगानीमा पुल निर्माण सम्पन्न भएको हो । ४८ मिटर लम्बाई, २.५ मिटर चौडाई र बगरको सतहबाट ६ मिटर उचाईमा पुल निर्माण भएको हेटौंडा १ नं. वडाका अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । पुल उद्घाटनसँगै ना.१ ह ४१३४ नं.को अटो पुलबाट ओहोरदोहोर गरेको थियो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष भुपाल थिङको सभाध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद मुनु सिग्देल र वडा अध्यक्ष सविन न्यौपानेले जनताको माग र लगनशिलताले पुल निर्माण सम्पन्न भएको बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका कार्यपालिका सदस्य ईश्वरी रसाइली, वडा सदस्य रामकृष्ण अधिकारी, समाजसेवी मानबहादुर बल, गणेश बल, लोकबहादुर घिसिङलगायतको सहभागिता थियो ।पुल निर्माणपछि हेटौंडा उपमहानगरपालिका वडा नं. १ को फेदीगाउँ र घट्टेखोला तथा १९ नं. वडाको ज्यामिरे क्षेत्रका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने वडा अध्यक्ष न्यौपानेले जानकारी दिए ।







