पिउने पानीको ट्यांकर लिएर भिमान पुगे वडाअध्यक्ष पाख्रिन

साझाकुरा
२०८० जेष्ठ २९, सोमबार १०:२२

हेटौंडा-निरन्तरको खडेरीसँगै यतिखेर गाउँबस्तीमा लगाइएको बाली सुकेर किसान मारमा परेको खबर सुनिरहेकै छौं । अब खानेपानीको लागि प्रयोग हुँदै आईरहेको कुवा पँधेरो सुक्न थालेको छ । सुक्खा मौसमको कारण पिउने पानीको लागि प्रयोग हुँदै आईरहेको कुवा सुकेपछि ३ घण्टाको बाटो हुँदै पिउने पानीको जोहो गर्दै आइरहेको खबर सुन्नासाथ वडाअध्यक्ष पुगे पानीको ट्याकी सहित ।

प्रस· हो मनहरी गाउँपालिका वडा नम्बर २ को भिमान बस्ती । चारैतिर डाडाँकाडाँले घेरिएको पर्सा जिल्ला सीमानामा पर्ने बस्ती जहाँ २२ घरधुरीको लगभग ९० जनाको परिवार संख्यामा रहेका बस्तिमा पानी लिन मात्रै पर्सा जिल्लाको पुतली खोलामा पुग्नुपर्ने अवस्था रहेको बताउँछन् स्थानीय हीरालाल बल । सधैं पिउदै आइरहेको पानीको मुल सुकेपछि स्थानीयले ८÷९ दिनदेखि दैनिक ३ घण्टाको बाटो हिंडेर खाने पानी ल्याउनुपर्ने बाध्यता रहेकोमा वडाअध्यक्षलाई शनिबार दिउँसो फोन मार्फत् जानकारी गराइएको थियो ।

आइतबार एकाबिहानै वडाअध्यक्ष आफ्नै पहलमा खानेपानी लिएर भिमान पुगेका हुन् । वडाअध्यक्ष खानेपानीको ट्यान्की सहित भिमान बस्ती पुग्दा गाउँका सबै बालकदेखि वृद्धासम्म वडाअध्यक्ष र खानेपानी प्रतीक्षामा रहेको देखिन्थ्यो । घरमा रहेको गाग्रो, बोटल, ड्रमलगायत सबै भाँडा पानी थाप्नको लागि ल्याएका देखिन्थ्यो । जब वडाअध्यक्ष ट्याक्टरमा पानी ल्याए त्यसपछि सबै खुशीले हर्षित देखिन्थे । त्यतिमात्र नभएर एकजना वृद्धाले त हामीलाई पानी उपलब्ध गराइदिएकोमा खुशी ब्यक्त गर्दै एकैपटक रामलक्ष्मण छोरा पाओस् भन्दै आशीर्वाद दिएका थिए ।

पानी बितरणपछि प्रतिक्रिया दिदै वडाअध्यक्ष राजकुमार पाख्रिनले स्थानीय जनताको समस्यालाई समाधान गर्न स्थानीय सरकारले अभिभावकत्व ग्रहण गर्छ भन्दै पानीको समस्या भएको आफूलाई शनिबारमात्र थाहा भएको बताए । अलि चाँडै थाहा पाएको भए तपाईहरुले पानीको लागि घण्टौ धाएर दुख खेप्नु पर्ने थिएन भन्ने आश्वासन वडाअध्यक्ष पाख्रिनले दिए । अब २÷२ दिनको अन्तरमा स्थानीयलाई ट्यान्की मार्फत् पानी उपलब्ध गराईने उनले बताए । आगामी आर्थिक वर्षमा भिमानको लागि वडा सरकारबाटै खानेपानीको लागि योजना बनाइने बताए ।

वडाअध्यक्ष पाख्रिनको ब्यक्तिगत पहलमा भिमानबासीलाई खानेपानी उपलब्ध गराएको हो । घण्टौंको बाटो हिडेर पानी ल्याइन्थ्यो तर, पानी सफा हुँदैनथ्यो । हामीले यति सफा र स्वच्छ पानी हाम्रै घर नजिक प्राप्त गरेका छौं भन्दै वडाअध्यक्ष पाख्रिनलाई स्थानीयले धन्यबाद दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*