सकियो हेटौंडा स्काउट क्याम्प

साझाकुरा
२०८० जेष्ठ २९, सोमबार १०:३०

हेटौंडा-नेपाल स्काउट, हेटौंडा उपमहानगर समितिको आयोजना एवम् हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा भएको प्रथम हेटौंडा उपमहानगरपालिका स्काउट क्याम्प–२०८० सकिएको छ ।१३ वटा स्थानीय विद्यालयका स्काउट ट्रुपहरु ४ सय ५० जना, रोभर रेन्जरहरु ५० जना र नगर समितिका सदस्य तथा शिक्षकहरु ५० जनालगायतको सक्रिय सहभागी रहेका स्काउट क्याम्प हेटौंडा–१८, फुर्केचौरस्थित गोरक्षनाथ माविको प्राङ्गणमा सम्पन्न भएको हो ।

आइतबार भएको समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष अनिल बानियाँको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा विभिन्न क्रियाकलापमा सहभागी स्काउट विद्यार्थी, ट्रुपहरुलाई हौसला प्रदान गर्न प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार घोषणा गरिएको थियो ।

नगर सदस्य बुद्धिनाथ न्यौपानेले स्वागत मन्तव्य राखेको समापन कार्यक्रममा निबन्ध लेखन प्रतियोगितातर्फ बालजागृति स्काउट ट्रुपका स्काउट देविना सन्जेल, महेन्द्र स्काउटका दिया मैनाली, भुटनदेवी स्काउटका उषा थापा र श्रमिक स्काउटका प्रगति माली क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुन सफल भएका छन् । क्याम्प गतिविधि प्रतियोगितामा बालजागृति स्काउट ट्रुप प्रथम, नवोदय स्काउट ट्रुप द्वितीय, श्रीकृष्ण आदर्श स्काउट ट्रुप तृतीय र बुद्ध स्काउट ट्रुपलाई सान्त्वना घोषणा गरिएको थियो ।

गोरक्षनाथ माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष शैलेन्द्रराज बानियाँको विशेष आतिथ्यता एवम् विद्यालयका प्रधानाध्यापक होमबहादुर नेपालीको आतिथ्यतामा तीन दिवसीय स्काउट क्याम्प समापन कार्यक्रम गरिएको हो । जेठ २६ गतेबाट सुरु भएको क्याम्पको उद्घाटन प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले गरेकी थिइन् ।
नृत्यमा कृष्ण आदर्श प्रथम
हेटौंडामा भएको प्रथम हेटौंडा स्काउट क्याम्प–२०८० मा हेटौंडा–९, स्थित श्रीकृष्ण आदर्श स्काउट ट्रुप नृत्यमा प्रथम बनेको छ ।नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा भएको प्रतियोगितामा कृष्ण आदर्श ट्रुप नृत्यमा प्रथम र क्याम्प सजावटमा तृतीय भएको हो ।

स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले जेठ २६ देखि २८ गतेसम्म स्काउट क्याम्प सञ्चालन भएको थियो । क्याम्पमा नगरभित्रका १३ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयका स्काउटमा आवद्ध प्रशिक्षार्थी साथै जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटकोसमेत सहभागिता रहेको थियो ।

क्याम्पमा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प, टायर क्रसिङ, मंकी ब्रिज क्रसिङ, कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउनुका साथै निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता आयोजना गरिएको थियो । त्यस्तै क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिमसमेत प्रदान गरिएको कार्यक्रम संयोजक दीपेन्द्र रोक्काले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*