दैनिक १० लाख लिटर खानेपानी प्रणालीमा थपियो
हेटौंडा-हेटौंडामा पानीको अभाब हुने क्षेत्रमा ट्याङकरबाट पानी बितरण गर्न थालेको खानेपानी बोर्डले रातारात बोरिङ गरेर थप पानी उत्पादन गरेको छ । दैनिक १० लाख लिटर पानी बोर्डको आपूर्ति प्रणालीमा थपिएको छ । सामरी खोलामा बोरिङ गरेर सुख्खायाममा पानी आपूर्ति गर्ने ब्यवस्था मिलाइएको बोर्डका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए ।
खानेपानी व्यावस्थापन बोर्डले पानीको अभाब भएका क्षेत्रहरुमा ट्याङकरबाट खानेपानी वितरण गर्ने थालेको छ । लामो समयदेखिको खडेरोले खानेपानी उत्पादनमा कमी आएकोले पानी वितरण प्रर्याप्त हुन नसकेपछि उपभोक्तालाई ट्याङकरबाट पानी बितरण गर्न थालेको अध्यक्ष बिष्टले बताए । सुख्खायामका कारण पानीको मुहान समेत
सुक्दै गएकाले उपभोक्ताका धारामा पानी आउन छोडेको गुनासो आइरहेको छ ।
दैनिक २ घण्टा पानी आउने धारामा दैनिक १० मिनेट मात्रै पानी आउन थालेपछि खानेपानीको समेत अभाव भएको उपभोक्ताले बताएका छन् । धारामा खानेपानी नआएको अवस्थामा ट्याङकर मार्फत् पानी वितरण गर्ने ब्यवस्था मिलाइएको बताइएको छ । पानी आपूर्ति नहुने क्षेत्रमा ट्याङकरबाट खानेपानी लिनका लागि ९८४५१२६९७० र ९८६८८२८६०३ मा सम्पर्क गर्न बोर्डले ग्राहकलाई अनुरोध गरेको छ ।
सोमबार राति ९ बजेदेखि खानेपानी बोर्डको आपूर्ति प्रणालीमा दैनिक १० लाख लिटर पानी थपिन थालेकोले मंगलबारदेखि हरिकुञ्ज क्षेत्रमा आपूर्ति अलि सहज हुने बताइएको छ । हेटौंडा नगरको २ नम्बर वडाका ग्राहकको धारामा पानी नआएका कारण उपभोक्ताले निजी ट्याङकरबाट पानी खरिद गरिरहेका छन् ।







