कोरा साइकलयात्रा असार ३० मा हुने
हेटौंडा-‘कोरा’ साइकलयात्रा एक महत्वपूर्ण पर्वको रुपमा विश्वभरिका साइकल यात्रीहरुले स्थानीय मठ मन्दिरहरुको परिक्रमा गरी मनाइने धार्मिक महोत्सव हो । बिगतका वर्ष झैं यो वर्ष पनि मकवानपुरमा यही असार ३० गते साइकलयात्रीहरुले कोरा साइकलयात्रा आयोजना गर्ने भएका छन् । कोरा साइकलयात्रामा कम्तिमा दुई सयजना साइकलयात्रीले सहभागिता जनाउने अनुमान आयोजक संस्थाले गरेको छ ।
हिमालयन राइडर्स सोसाइटी मकवानपुरले कोरा साइकलयात्रा आयोजना गर्न लागेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिएका छन् । हेटौंडा कोरा च्यालेन्ज २०२३ मा सहयात्रा गर्न इच्छुक साइकलयात्रीलाई सोसाइटीले आव्हान गरेको छ । यो वर्षको कोरा महोत्सवमा सहभागी हुँदै स्थानीय मठमन्दिरको दर्शन गरी पुण्य प्राप्त गर्न सोसाइटीले आग्रह गरेको हो । हेटौंडा नगरक्षेत्रमा रहेका धार्मिकस्थलको परिक्रमा गरी यो वर्षको कोरा साइकलयात्रा समापन गरिने आयोजक संस्थाले जनाएको छ ।
स्थानीय पर्यटनको विकास, स्वास्थ्य, पर्यावरण बचाउनका लागि साइकल चलाउने बानीको विकास गर्न कोरा साइकलयात्रामा सहभागी बन्नका लागि अनलाइन फारम भर्न र आफ्नो सिट सुनिश्चित गर्न सोसाइटीले आग्रह गरेको छ । यो वर्षको कोरा साइकलयात्रा करिब २१ किमिको हुने सोसाइटीका उपाध्यक्ष राजु थापामगरले जानकारी दिएका छन् ।
हुप्राचौरको पशुपतिनाथ मन्दिरबाट सुरु भई कुष्माण्ड सरोबर (त्रिबेणीधाम), जलेश्वर, मुक्तिनाथ, बिन्द्यबासिनी, बनस्खण्डी, दक्षिणकाली, रुद्रेश्वर, भुटनदेबी मन्दिर परिक्रमा गरी कोरा साइकलयात्रा समापन गरिने बताइएको छ ।







