जनप्रियमा हेटौंडा उपमहानगरको विषयगत शैक्षिक प्रदर्शनी
हेटौंडा- हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाको आयोजना र जनप्रिय माविको संयोजनमा विषयगत शैक्षिक प्रदर्शनी २०८० आयोजना गरिएको छ । जसमा शिक्षक तथा विद्यार्थीले तयार गरेका विविध शैक्षिक सामग्रीको प्रदर्शनी, तिनीहरुको प्रयोग तथा उद्देश्य बारे अवलोकनकर्तालाई जानकारी दिने काम गरिएको छ ।
महाशाखा प्रमुख गंगाधर रिमालको सभाध्यक्षता र हेउमनपाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा २० स्टलमार्फत् ११ विद्यालयको प्रदर्शनी रहेको थियो । जनप्रिय माविका अप्राविधिकतर्फ गणित तथा विज्ञान विषयका प्रदर्शनी रहेको थियो । स्टाफ नर्सको व्यवस्था रहेको यो विद्यालयले हेल्प तथा हेल्थ डेस्कको छुट्टै व्यवस्था गरेको थियो ।
सचिवालय, सामग्री निर्माण तथा व्यवस्थापन, कार्यक्रमको ढाँचा आदिबारे शिक्षक तथा विद्यार्थीको विभिन्न समूहमार्फत् सहयोग र सहकार्यमा प्रदर्शन गरिएको जनप्रियको कृषि प्राविधिकतर्फको स्टलमा प्रदर्शनीका लागि प्रशिक्षक अणिमा पोखरेलको नेतृत्वमा रहेको शिक्षक तथा विद्यार्थी समूहले बीउबीजनसम्बन्धी सामग्री निर्माण गरी सोमार्फत् जानकारी दिने काम गरेको थियो ।
यस्तै आधुनिक राष्ट्रिय मावि र ज्योति माविको भिन्दाभिन्दै विषयअन्तर्गतका २÷२ स्टल रहेका थिए । ज्योति माविका शिक्षक कपिल पराजुलीका साथमा विद्यार्थीले स्वयम्भुनाथ स्तुप, मन्दिर, मादल, डम्फुलगायत सामग्रीका साथै गणित विषयमा प्रयोग हुने विभिन्न सूत्रका लागि बनेका सामग्रीका साथै विभिन्न आकृतिलगायतको स्टल प्रदर्शनी ग¥यो ।
कमाने एकेडेमीले शिक्षक शर्मिला तामाङ तथा विद्यार्थीमार्फत् अतिरिक्त क्रियाकलापका साथ अध्ययनमा हौसला दिनेगरी दिनभरमा सयौं विद्यार्थीलाई कागजका विभिन्न चित्रात्मक शैक्षिक सामग्रीको प्रयोगमा प्रत्यक्ष सिकाइ गतिविधि समेत ग¥यो ।
गणित सिकाइका लागि जनप्रिय माविले शिक्षक अजन्ता पराजुली, आशिष बल, रामकृष्ण विश्वकर्मामार्फत्, ज्ञानदा माविले शिक्षक सविना वाइबा, ज्योति माविले शिक्षक युवराज लोप्चन, नवोदय शिशु सदनले शिक्षक गोपाल घिमिरे, चन्द्रोदय माविले शिक्षक ब्रजकिशोर गुप्ता तथा विद्यार्थीमार्फत् गणित विषयका सामग्रीको प्रदर्शन गरेका थिए ।
जिएस निकेतनले शिक्षक सुरज कटुवालमार्फत् सौर्य प्रणाली बारे जोड दिँदै विज्ञान विषयको प्रदर्शनीका साथै जनज्योति माविले शिक्षक हरि पौडेल र कविता विश्वकर्मा तथा ज्योति माविले परम्परागत बाजागाजा, भेषभुषा आदिमार्फत् सामाजिक विषयको प्रदर्शनीमा जोड दिएका थिए ।
हेटौंडा एकेडेमीले शिक्षक विनोद अधिकारी तथा विद्यार्थीमार्फत् प्रदर्शनी गरेको थियो । जहाँ सेन्सर प्रविधि राखिएको चश्माबाट दृष्टिबिहिनले सम्भावित दुर्घटनाबाट बच्न सकिने, रोबोटिक्स, सौर्य कुकर र राइस मिल जस्ता नमुना प्रदर्शित थिए । हरेक स्टलमा शिक्षक र विद्यार्थीबाट अध्ययन अध्यापनमा प्रयोग हुने सामग्रीबारे आगन्तुकलाई चर्चा गर्दै त्यसका प्रयोग तथा फाइदाबारे बताइएको थियो ।
कार्यक्रममा सामुदायिक विद्यालयतर्फबाट प्रतिनिधित्व गर्दै आरामाविका शिक्षक कमल दाहालले छोटो अवधिमा उत्कृष्ट कार्यक्रम बनेता पनि यस्ता कार्यक्रम उपयुक्त समयमा गरेर अझै वृहत बनाउन सकिने सुझाव दिए । संस्थागत विद्यालयका तर्फबाट नवोदय शिशुसदनका शिक्षक गोपाल घिमिरेले शिक्षक तथा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्रीलाई प्रदर्शनी राख्ने र अन्य विद्यालयका सामग्री अवलोकन गर्ने अवसर मिलेकोमा बताए । जनप्रिय माविका प्रअ भुपेन्द्र चौलागाईँले कार्यक्रम सफल हुनुमा स्वयम्सेवक विद्यार्थीलाई अभिमुखिकरण, शिक्षकको एकजुट भावना, व्यवस्थापन समितिको सहयोग तथा शिक्षा महाशाखाको विश्वास रहेको बताए ।
शिक्षा अधिकृत सुनिता महर्जन, रमेश बिडारी, रामचन्द्र खड्का र प्राविधिक सहायक उषा गौतमको उपस्थिति रहेको थियो । हरेक स्टल शैक्षिक सामग्रीले भरिभराउ रहेका, शिक्षकले सकेसम्म यस्ता सामग्रीको निर्माण गरी सिकाइमा सहजता ल्याउन सुझाव दिँदै शिक्षा महाशाखा प्रमुख रिमालले जनप्रिय माविले उत्कृष्ट व्यवस्थापन गरेकोमा धन्यबाद दिए ।
कार्यक्रममा दिनभरिमा ४ हजारले अवलोकन गरेका थिए भने स्टल सञ्चालन गरेका विद्यालयका अलावा गौरिशिखर इङ्लिस बोर्डिङ स्कृल, बालजागृति युवावर्ष मावि, जनजागृति मावि, फेमकल एकेडेमी, कृष्ण आदर्श बोर्डिङ स्कूल, सुनगाभा शिक्षा निकेतन मावि, पेन्टागन एकेडेमी, बागेश्वरी मावि, त्रिभुवन मावि आदिबाट प्रदर्शनी अवलोकन गरिएको थियो ।







