शान्तिसुरक्षा कायम गर्दा दवाव सहन्नः प्रजिअ सेढाई

साझाकुरा
२०८० असार १८, सोमबार १४:३०

हेटौंडा-सुरुवा भई भर्खरै मकवानपुर आएका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंले जिल्लाको शान्तिसुरक्षा कायम गर्ने क्रममा आएको दवाव नसहने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको जिम्मेवारी सम्हाल्दै गर्दा आइतबार जिल्लाका पत्रकारहरुसँग भेटघाट गरेका सिडिओ सेढाईले जनतालाई प्रदान गर्ने सेवा चुस्तदुरुस्त बनाउन प्राथमिकता दिएर काम गर्ने विश्वास दिलाए । उनी शुक्रबार मात्रै मकवानपुर आएका हुन् ।

उनले आफू प्रशासक जस्तो भएर नै काम गर्न आएको र आफ्नो कार्यकालमा जिल्लाको शान्तिसुरक्षा कायम गर्न कसैको करकाप र दबावमा नपर्ने बताएका हुन् । प्रजिअ सेढाईले भने–‘मेरो कार्यकालमा जिल्लाको शान्तिसुरक्षा कायम गर्न संचारमाध्यम, पत्रकार, जिल्लाबासीको सहयोग चाहिने’ भन्दै जिल्लामा मौलाएको लागूऔषध र त्यसको नियन्त्रण, सडकमा गुड्ने गाडीमा तोकिएको मापदण्ड भन्दा माथि गएर ओभरलोड बोक्नेलाई आवश्यक कारबाही गरिने बताएका छन् ।

भेटघाटमा मकवानपुरे पत्रकारले जिल्लामा हुने लागूऔषध कारोबार र दुव्र्यसनी, बढ्दो सवारी चाप, सार्वजनिक बिदाको दिन सरकारी सवारीको दुरुपयोग, सरकारी कार्यालयमा हुने ढिलासुस्ती र नदीजन्यपदार्थको अबैध चोरी निकासी र त्यस्ता कार्यको नियन्त्रणमा आवश्यक कदम चाल्न जानकारी गराएका थिए । प्रजिअ सेढाईले पत्रकार भेटघाटमा आफ्नो कार्यकालमा त्यस्ता समस्यालाई नियन्त्रण गरिने प्रतिबद्धता व्यक्त गरे । सेढांई खोटाङ्बाट मकवानपुर आएका हुन् ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, जिल्ला प्रशासनका अधिकृत गुणराज न्यौपाने र विभिन्न संचारगृहमा आवद्ध पत्रकारहरु उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*